कालापानीनजिकको सीमा क्षेत्रको गाउँहरु छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन्। सीमा प्रशासन कार्यालय दार्चुलाका कार्यालय प्रमुख मोहनसिंह धामीका अनुसार ७ सय ९६ जनाले उक्त क्षेत्रमा जान भारतीय बाटो प्रयोगका लागि सिफारिस लिएका छन्।
नेपाल तर्फबाट बाटो नहुँदा सीमा क्षेत्रका बासिन्दा भारतीय प्रशासनसँग अनुमति लिन बाध्य छन्। भारतले त्यस क्षेत्रसम्म पुग्नका लागि सडक पुर्याएको भए पनि नेपाली क्षेत्रमा भने मान्छे हिँड्न सक्ने बाटो समेत छैन।
त्यस क्षेत्र पुग्ने बाटो निर्माणका लागि नेपाली सेना परिचालन गरेर व्यास गाउँपालिका वडा नं १ घाटिबगडमा ५ सय ५० मिटर चट्टानी क्षेत्रमा विस्फोट गरेर बाटो निर्माण गरिएको थियो। तर, भारतीय सडक निर्माण र महाकाली नदीको बहावले नेपाल तर्फको बाटो ठाउँठाउँमा भत्किएको छ ।
हाल व्यास गाउँपालिका वडा नं १ छाङरु र तिंकरका बासिन्दा कुञ्चा सरिरहेका छन्। हिउँदमा छ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मी मौसममा ६ महिना गाउँमा बस्ने त्यस क्षेत्रका नागरिक आफ्नो गाउँघर पुग्न भारतको भरमा छन्।
भारतीय प्रशासनबाट अनुमति लिएका छाङरु र तिंकरका शौका समुदाय भारतीय बाटो भएर थातथलो गइरहेका छन्। घरपालुवा जनावर चौँरीगाई झुपु, बाख्रा र खाद्यान्न बोकेर स्थानीहरु कुञ्चा सरिरहेको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोकसिंह बोहराले बताए। स्थानीय तह निर्वाचनका लागि २५–२६ गतेभित्र सबै नागरिक गाउँ जाने तयारीमा रहेको बोहराले बताए।
स्थानीय मात्रै नभएर त्यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीसमेत भारतसँग अनुमति लिएर जाने गरेका छन्। गर्मी मौसम सुरु भएसँगै छाङरु र तिंकरका ४ सय १६ जनाले भारतीय प्रशासनसँग बहुयात्रा अनुमति पत्र लिनका लागि सीमा प्रशासन कार्यालय दार्चुलाबाट सिफारिस लिएका छन्।
त्यसैगरी, ७८ जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी, जिल्ला भित्रका २ सय ५७ र जिल्ला बाहिरका ४३ जना गरी ७ सय ९६ जनाले बहुयात्रा अनुमतिका लागि सिफारिस लिएको सीमा प्रशासन कार्यालय दार्चुलाका प्रमुख मोहनसिंह धामीले बताए। सीमा प्रशासन कार्यालयको सिफारिस लिएर भारतको धार्चुला प्रशासनमा पुग्नेहरुले ४–५ दिनमा यात्राका लागि अनुमति पाइरहेका छन्। पछिल्लो समय राष्ट्रिय जनगणना भइरहेका बेला छाङरु र तिंकर जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक लगाइएको थियो। यसपटक भने भारतीय प्रशासनले यात्राका लागि अनुमति दिइरहेको कार्यालय प्रमुख धामीले बताए।
भारतको धार्चुला तहशिलबाट करिब ८० किलोमिटर माथि रहेको छियालेकबाट नोटिफाइड क्षेत्र सुरु हुन्छ। त्यस क्षेत्रभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गर्ने जोसुकैले पनि भारतको धार्चुला तहशिलबाट अनुमति लिनुपर्ने हुन्छ। त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिक भने परिचयपत्रका आधारमा पनि प्रवेश पाउँछन्। नेपालको छाङरु गाउँ प्रवेश गर्ने सितापुल छियोकबाट करिब ४ किलोमिटर माथि छ।