नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन् । आइतवार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको भनेर आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौँ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’
त्यस्तै, उनले अझै गठबन्धन 'क्लियर' नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अपिलसमेत गरे । कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । तर कांग्रेसले अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।
माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीका अनुसार शनिवार कैलाली पुगेका उनी आइतवार कालीकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।