नेपाल आइडल रवि वड पाँच वर्षअघि म्यादी प्रहरी थिए
2022/05/10, 5:19
 
ss

पाँच वर्षमा कति कुरा परिवर्तन हुने रहेछ । गायक रवि वडको मोबाइलमा केही दिनअघि टुप्लुक्क आइपुगेको म्यासेजले अनुभूत गरायो । ‘भाइ, त्यो बेला हामी सँगै म्यादी प्रहरी थियौँ । चार वर्षपछि फेरि उसैगरी बुथ हेर्न आयौँ,’ एक जना दाइले म्यादी हुँदाको रविको हँसिलो फोटो पठाएर सम्झाए । 

उनले सम्झिए- म्यादी प्रहरीको पोशाकमा लौरो बोक्दै बुथलाई सुरक्षा दिन खटिएको रवि वड । जो गाउँथ्यो, नाच्थ्यो । टिमका सब साथीहरूबाट तारिफ बटुल्थ्यो ।  ‘यस्ता रमाइला दिन थिए है दाइ ! अहिले तपाईंहरूकै मायाले यो चर्चा हासिल गरेको छु,’ खुसी मनले लामो श्वास तान्दै ती दाइलाई भन्छन् । 

ठीक चार वर्षअघि मतदानस्थलमा सुरक्षाका लागि सतर्क भएर उभिनुपर्थ्यो । त्यतिबेला न मतदाताले चिन्थे, न उम्मेदवारले । ‘अहिले त उम्मेदवारहरूको फोन र म्यासेजले धानिनसक्नु हुन्छ । हिजो गार्ड भएर उभिनुपर्थ्यो । आज अतिथि भएर उभिइदिन उहाँहरूको आग्रह हुन्छ । तर, कसैकोमा गए पो,’ रवि सुनाउँछन् ।   चुनाव नजिकिँदै गर्दा ‘नेपाल आइडल सिजन– २’ का विजेता रविलाई उतिबेला म्यादीमा जागिर खाँदाका दिनहरू बल्झिरहेछन् । 

०००

मनमस्तिष्कमा संगीत बोकेर हिँडे पनि गरिबीको नमिठो धुन बजिरहन्थ्यो रविको जीवनमा । गीत गाएर बिग्रियो भन्नेहरू थिए । घरको जेठो छोरा । तर, कामविहीन हुँदा निराश थियो परिवार । त्यतिबेला रविलाई कुनै हालतमा गर्नु थियो काम । भौँतारिइरहेको बेलामा स्थानीय तहको चुनाव नजिकियो ।

कञ्चनपुरमा म्यादी प्रहरीको भर्ना खुल्यो । दुई महिनामा ४५ हजारभन्दा माथि कमाइने । उनले म्यादीमा भर्ना हुनका लागि फारम भर्न खोजे । तर, म्यादीका लागि पनि पहुँच लगाउनुपर्ने । रविको पहुँचमा माथिल्लो तहमा कोही थिएनन् । तर, पनि आफ्नै बुताले सक्छु भन्ने आत्मविश्वास थियो उनमा । दर्ता नम्बर आयो । फिटनेस राम्रै थियो । दौडमा दोस्रो भए । अरु जेजे प्रक्रिया हुन्थे, रविले पार गरिछाडे । 

र, लिखितमा उनको नाम निस्कियो । नाम निस्किएको दिन, के चाहिँ भएन । खुसीको सीमा रहेन । ‘मनमा डर थियो । ५९ नम्बरमा नाम निस्केको थाहा पाएपछि  म र परिवार निकै खुसी भयौँ,’ रवि सुनाउँछन् ।  म्यादी उनको पहिलो जागिर थियो । आफन्तको दबाब थियो- सरकारी जागिर खाऊ ।  प्रयास नगरेका होइनन् । त्यसअघि खरिदारको तयारी गरेका थिए । नाम निस्किए पो । ‘जे होस्, छोराले सरकारी जागिर खायो,’ आफन्तमा खुसीको सञ्चार भयो । 

जागिर तीन महिनासम्म लम्बियो । उनी प्रहरी अधिकारीहरूमाझ लोकप्रिय कहलिइसकेका थिए । गायन कला र नृत्य प्रस्तुतिले सबैको मन छोएको थियो । उनीबाट प्रभावित प्रहरीहरू भन्थे, ‘रवि, तिम्रो फिटनेस पनि राम्रो छ । प्रहरी बन, हामी सहयोग गरौँला ।’  ड्युटीमा कहिले राति १२ बजेदेखि बिहान ६ बजेसम्म अनिदो बस्नुपर्थ्यो । कहिले दिउँसो खटिनुपर्थ्यो । काम गरिरहँदा रविलाई लाग्थ्यो- मैले पनि देशका लागि योगदान गरिरहेछु । चुनावको बेला डर पनि लाग्यो । सुन्थे- कतैकतै झडप र दुर्घटनाका समाचार । ‘त्यतिबेला भने  डर लागिरहन्थ्यो । धन्न, त्यस्तो केही भएन,’ रवि सम्झन्छन् ।

रविसँग साधारण स्मार्ट मोबाइल थियो । साथीभाइले चलाएका मोबाइल देख्दा आफूले पनि राम्रै किन्ने रहर त नपलाएको होइन । पहिलो जागिरले उनले आफ्नो रहर पूरा गरे । १२ हजारमा ओप्पो ब्राण्डको मोबाइल किने । ‘बाँकी घरखर्च, ऋण तिरेँ । भाइबहिनीको पढाइ खर्च धानेँ,’ पहिलो कमाइबारे उनी सम्झन्छन् ।

०००

पक्का थियो, रविले प्रहरीको असईमा जागिर खाने । फिटनेस, दौड होस् वा जम्पिङ, उनी त्यसका पारखी थिए । आफूसँगै गएका दुई साथी पनि उत्तिकै योग्य । ‘तिमीहरू योग्य छौ, नाम निकाल्छौ,’ उनीहरूका गुरुले भन्थे ।   तर, उनी छानिएनन् । कारण, हातमा खोपेको संगीतको ट्याटु । ट्याटुले उनको चाहेको ठूलो अवसर गुम्यो । उनी निराश हुँदै फर्किए । भित्रभित्रै रोए । संयोग भनुँ, त्यही ट्याटुले धरधरी रुवाएको रविलाई त्यही ट्याटुले बिर्सनै नसक्ने खुसी पनि दिलायो । ‘यदि ट्याटु थिएन भने म असई हुन्थेँ । तर, गायक हुन्नथेँ । मेरो जीवन अर्कै हुन्थ्यो,’ रवि सम्झन्छन् । 

संगीतको भोक मरेको थिएन । उनी आफ्नो सपनाको पछाडि लागिपरे । नेपाल आइडलको अडिसनमा गए । छानिए । छानिँदै गए । र, अन्त्यमा विजेता बने ।  सुदूरपश्चिम सरकारले रविलाई पर्यटन प्रवर्द्धनका लागि पर्यटन दूत बनाएको छ । उनी यसकै प्रचारमा व्यस्त छन् । सांगीतिक कार्यक्रमका स्टेजमा उनको माग पनि उत्तिकै छ । अहिलेको समयका व्यस्त गायक रवि चुनाव नजिकिँदै गर्दा एउटा कुरा सम्झेर भने खुसी हुन्छन्- कुनै समय म पनि म्यादी थिएँ ।