टीकापुर र जोशीपुरमा रेशम चौधरीको पार्टी फराकिलो मतान्तरले अगाडि
2022/05/15, 9:19
 
ss

पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ । जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता कायमै राखेको छ ।

आइतवार बिहानको मतगणना अनुसार जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी ४९७ मतका साथ अग्रस्थानमा छन् । उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बम पछ्याइरहेका छन् । बमले ४७९ मत प्राप्त गरेका छन् । ३०३ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन् । 

टीकापुर नगरपालिकामा पनि हासम्म नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर ५ मा पार्टीका वडाध्यक्षका उम्मेदवार वलवीर थारु आफ्नो पूरै प्यानलसहित विजय भएका छन् ।  वडामा मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १ हजार ६२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५०८ मतका साथ पछ्याएका थिए ।हाल टीकापुरको वडा नम्बर ३ को मतगणना जारी छ । सो वडामा पनि ४२८ मतका साथ रामलाल डंगौराले नै अग्रता लिएका छन् ।

जिल्लाको भजनी नगरपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी दोस्रो स्थानमा छ । ती पालिकामा नागरिक उन्मुक्तिले नेकपा एमालेलाई पछ्याइरहेको छ ।   जानकीमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवारले १५५ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले १४२ मतका साथ पछ्याइरहेका छन् । भजनी नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवारले ७५७ मत प्राप्त गर्दा नागरिक उन्मुक्तिका उम्मेदवारले ६५१ मत मात्रै प्राप्त गरेका छन् ।