म पेलेर होइन, सबैसँग मिलेरै जान्छु: धनगढीका मेयर गोपाल हमाल (अन्तर्वार्ता)
2022/05/22, 6:39
 
ss

सुदूरपश्चिको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी भएका हुन्।  

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्। हमालसँग धनगढीस्थित उनको सचिवालयमा गरिएको कुराकानी

पाँच दलीय गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार दिएर यत्रो मतअन्तरले जित्नु अनपेक्षित नतिजा होइन ?
गत चुनाव सकिएपछि हामी निरन्तर रुपमा गाउँमा गइरहेका थियौं। गाउँमा जादा जुन मान्छेहरुसँग हाम्रो संवाद हुन्थ्यो, त्यसअनुसार एकपटक तपाईंलाई हेर्छौँ भनेर हरेक मान्छेले भन्थे। अरु भोट पार्टीलाई दिए पनि एक पटक तपाईंलाई हेर्छौँ भन्ने हुन्थ्यो। त्यसले गर्दा यो अनपेक्षित होइन‍, अपेक्षित हो।

अब एकपटक तपाईंलाई पनि हेर्ने भएका छन्, तपाईंले पनि निराश बनाउनु होला कि ?

कोही पनि बिल्कुल निराश हुँदैनन्। म मेयर केका लागि बन्न लागेको हुँ? त्यहाँ भ्रष्टाचार गर्ने, कुनै सुविधा नलिने, खल्तीबाट खर्च गर्ने कुनै मेयर नेपालमा भएको छ? मेरो केही कमिटमेन्टहरु छन्। ती कमिटमेन्ट पुरा गर्न त्यहाँ जान लागेको हुँ। म त्यहाँ टाइमपास गर्न वा पैसा कमाउन जान लागेको होइन। जुन ठाउँले मलाई बनायो, त्यो ठाउँलाई बनाउँ म जान लागेको हो। लिने होइन केही पनि कुरा दिने हो। यो ठाउँले मलाई यहाँसम्म पुर्याएको छ। त्यसकारण मैले पाँच वर्ष आफूलाई यो ठाउँमा समर्पण गर्ने हो। 

बाँकी वडाहरु सबै अरुले जित्दा काम गर्न अप्ठेरो पर्दैन ?
म त्यसलाई चुनौती मान्दैमान्दिनँ। हामीले आफ्नो व्यक्तिगत फाइदाका लागि केही कुरा गर्ने भएको भए सायद यो कुरामा चुनौती हुन्थ्यो। जति पनि वडाध्यक्षले जित्नुभएको छ, उहाँहरुले आफ्नो योजनाबद्ध हिसाबले विकास गर्नुपर्ने कुरामा, वडामा विकास गर्नुपर्ने कुरामा, वडामा सेवा पुर्याउने कुरामा अवरोध गर्नुहोला जस्तो लाग्दैन। जितेका वडाध्यक्षहरु सबैले तपाईंसँग मज्जाले मिलेर काम गरिन्छ भन्नुभएको छ। चुनावभन्दा अगाडि वडाध्यक्षहरु जितेमा काम गर्नसक्दैन भनेर मत प्रभावित पार्ने काम हुन्छ। चुनाव सकिसकेपछि त्यस्तो चुनौती हुँदैन। हामी पक्षपात गर्दैनौँ। हाम्रो धनगढी हामी बनाउँछौँ भनेका छौँ। नगरबासी सबैलाई हामी एउटै नजरले हेर्छौँ। 

तपाईंका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान मेयर नृपबहादुर वडलगायतलाई कसरी समेटेर अघि जानुहुन्छ ?
म सबैलाई सम्मान गर्छु। म कसैलाई बदला वा प्रतिशोध लिन जाने होइन। हामी सबै मिलेर बनाउने हो। मेरो चुनावी अभियानका क्रममा पनि मैले कसैलाई कुनै आरोप प्रत्यारोप लगाएको छैन। मैले यो गर्छु, यो हुनुपर्छ। हामी यस्तो गर्छु भनेको छैन। हामी कसैको विरुद्ध होइन, कसैलाई पनि बाहिर राखेर हामी अघि बढ्दैनौँ। 

उपमेयर पनि अर्को पार्टीको पक्का भइसकेको छ। यस्तोमा मेयर उपमेयरबीच द्वन्द्व देखिने त होइन ?
मैले द्वन्द्व हुने केही पनि देखेको छैन। द्वन्द्व केका लागि हुने। स्वार्थ बाझ्यो भने द्वन्द्व हुन्छ। मैले समान व्यवहार गरेर मेरिटको आधारमा प्रणालीको विकास गरेँ भने कसरी द्वन्द्व हुन्छ? जो राम्रो हो त्यो हाम्रो हुन्छ, मैले मान्छे छिराउन थालेँ, अर्काले पनि छिराउने थाल्यो भने द्वन्द्व आउने हो। त्यस्तो हाम्रोमा हुँदैन। हामीले कर्मचारीतन्त्रलाई चुस्तदुरुस्त बनाउनुपर्छ, उनीहरुको कामलाई हस्तक्षेप गर्ने होइन। 

तपाईंको स्वभाव केही कुरा गर्न मन लागेपछि गरेरै छाड्ने प्रकृतिको छ, त्यस्तोमा कार्यपालिकामा तपाईंको योजना विपक्षमा मत आयो भने पेलेरै जानुहुन्छ ?
जनप्रतिनिधि भएर आइसकेपछि सबैका आ आफ्ना जिम्मेवारी हुन्छन्। म पेलेरै होइन, मिलेरै जान्छु भन्नेमा छु। उहाँहरुलाई कन्भिन्स गराउँछु। एक दुई जना कन्भिन्स नभएपछि उहाँहरुको कुरा नोट अफ डिसेन्ट लेखे पनि लेख्नुस् भन्ने हिसाबले अघि बढ्ला। तर हामी मिलेरै जान्छौं। 

तपाईं व्यवसायिक पृष्ठिभूमिबाट आउनुभएको मान्छे। सबै व्यवसायीहरुसँग नजिकको सम्बन्ध छ र तपाईंलाई सहयोग पनि गर्नुभएको छ। अब तपाईं मेयर भएपछि ठेक्कापट्टा हामीलाई पारिदिनुपर्यो भनेर व्यवसायीहरुले सहयोग माग्ने होलान् नि ?
जतिजनाले मलाई सहयोग गर्नुभएको छ। यो व्यक्तिगत रुपमा लाभको लागि सहयोग गर्नुभएको हो या धनगढीको विकासको लागि सहयोग गर्नुभएको भएको हो? जसरी मैले पाँच वर्ष आफ्नो समय र पैसा पनि खर्च गर्छु भनेको छु, त्यसरी नै धेरै जना मानिसहरु व्यक्तिगत रुपमा लाभ हुन्छ भनेर आउनुभएको होइन। मैले जहिले पनि भनेको छु, म प्रणालीको विकास गर्ने हो। मेरो लागि जो योग्य हुन्छ हामीले त्यसलाई सेलेक्ट गर्ने हो। यदि यो कुरा गर्न सकिँदैन भने हामी आउनु र हिजो आउनुमा के अन्तर? व्यापारीले सम्मान पाउने हो भने समाजमा योगदान गर्नैपर्छ। मौका पाउनेबित्तिकै कमाइहाल्छु, ठगीहाल्छु भन्ने होइन। जुन परिपाटी छ, त्यो परिपाटी त्यागेन भने उसले कहिल्यै पनि सम्मान पाउँदैन। मैले समाजिक र व्यापारिक काम सँगसँगै गरेर जनताले पत्याए नि। अरु व्यावसायिक साथीहरुले पनि गर्नुपर्छ। 

अनि तपाईंका कतिपय व्यवसायहरुको निगरानी नगरपालिकाले गर्नुपर्ने हुन्छ। व्यवसाय तपाईंकै, निगरानी गर्नुपर्ने ठाउँमा पनि तपाईं हुँदा 'कन्फ्लिक्ट अफ इन्स्ट्रेस्ट' होला। सबै व्यवसायबाट  राजीनामा घोषणा गर्नुहुन्छ कि नाइँ ?
किन राजीनामा दिनुपर्ने? त्यस्तो कन्फ्लिक्ट  अफ इन्स्ट्रेस्ट केही पनि हुँदैन। नगरपालिकाले नियमन गर्नुपर्ने, अनुगमन गर्नुपर्ने अफिस (बिजनेस हाउस)हरु होइनन् नि त। निजी क्षेत्रका अफिसहरु नगरपालिकाको हेर्दैन। कानुनमा बाझियो भने राजीनामा दिउँला। त्यसमा केही आपत्ति भएन। 

यसअघिका निवर्तमान मेयर दोहोरिन खोज्दा उनको प्रतिबद्धतापत्रमा पनि धनगढीलाई भ्रष्टाचारमुक्त बनाउँछु भन्ने कुरा थियो। त्यसको मतलब यहाँ विगतमा पनि भ्रष्टाचार भएका छन् भन्ने पुष्टि गर्छ। ती भ्रष्टाचारहरुलाई उधिन्नुहुन्छ?
पुरानो फाइल कोट्याउनेभन्दा पनि नयाँ के गर्ने भन्नेमा मेरो प्रमुख ध्यान हुन्छ। पुरानो के भाथ्यो कस्तो भाथ्यो भन्ने एकदमै पब्लिकबाट आएको कुरा छ भने अर्कै कुरा हो। होइन भने हिजो के भाथ्यो भन्नेतिर हामी जाँदैनौँ। के भएको थियो, त्यसबेलाका पदाधिकारीले जिम्मा लिने बेला हो। आफ्नो कार्यकालमा भ्रष्टाचार हुन दिन्नँ भन्ने मेरो उदेश्य हो। हिजोको कार्यकाल वा स्थापना भएदेखि कोट्याएर हिँड्छु भनेपछि म त्यसैमा अल्झिहाल्छु नि। त्यसमा अल्झिनुभन्दा पनि अबको पाँच वर्षमा म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने मेरो कमिटमेन्ट हो। 

अहिलेसम्म यस क्षेत्रको ठूलो व्यवसायिक घरानाको मान्छे, तपाईंसँग जनताको सहजै पहुँच हुँदैन भन्थे। अब मेयर भएपछि जनताको पहुँच सहज हुन्छ?
यो जसले प्रोपोगान्डा फैलायो गलत फैल्यायो। हिजो पनि मेरो जनतासँग पहुँच थियो। व्यापारी भए पनि धेरै क्षेत्रका मान्छेसँग निरन्तर संवाद हुन्थ्यो। सहयोग आदानप्रदान हुन्थ्यो। मलाई भेट्नलाई समस्या हिजो पनि थिएन, अब झन म सार्वजनिक व्यक्ति भइसकेपछि झनै हुँदैन। 

पाँच वर्षमा तपाईंले धनगढीलाई कस्तो बनाउनुहुन्छ?
मैले परिकल्पना गरेको धनगढी अब व्यवस्थित सहरका रुपमा विकास हुनुपर्यो। अहिलेसम्मको विकास पहुँचका आधारमा भयो। हामीलाई वर्षामा आउने पानी कहाँ फाल्ने हो, फोहोर छ त्यसको व्यवस्थापन कसरी गर्ने हो, सहरीकरणको विकाससँगै पर्यावरणलाई पनि संरक्षण गर्दै लैजानुपर्यो, त्यसको विकल्प धनगढीमा केही देखिएकै छैन। हामीले चाहेको भौतिक विकासको सँगसँगै पर्यावरणको पनि संरक्षण हो। अहिले यहाँ धारामा खानेपानीको समस्या छैन। २० वर्षपछि पानीको समस्या हुन्छ। पहिले धनगढीमा १५ फिटमा पानी आउँथ्यो। पहिले धनगढी आसपासमा धेरै ताल थियो। त्यसले रिचार्ज हुन्थ्यो। तर अहिले तालहरु अतिक्रमण हुन्थ्यो। ५० वर्षपछि ट्यांकरको पानी किनेर खानुपर्ने अवस्था हुन्छ। यो दिगो विकासको कुरा हो। अहिले जनतालाई यो कुरा थाहा छैन। थाहा दिनु आवश्यक पनि छ। व्यावासायिक क्षेत्रमा म सुखमा बसेको थिएँ। मैले राजनीतिमा टाउको छिराएँ। आउने सन्ततिले दु:ख नपाउन् भनेरै मैले राजनीतिमा टाउको छिराएको हुँ। बाँकी कुराहरु मैले मेरा घोषणापत्रमा समेटेको नै छु।  नेपाल खबरबाट