यी हुन्  सुदूरपश्चिममा आर्थिक वर्ष २०७९/८० को बजेटमा समेटिएका योजना
2022/05/30, 11:49
 
ss

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ । स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ ।

प्रस्तुत बजेट अनुसार सरकारले आर्थिक वर्ष २०७९/८० भित्र गेटा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को वजेट भाषणमा गेटा मेडिकल कलेज सञ्चालन गर्नेे बताएका हुन् ।

उनले सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई समेत गेटा मेडिकल कलेजसंग जोड्ने बताए । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको छ । केही दिनअघि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने उल्लेख गरिएको थियो ।

सरकारले सुदूरपश्चिम प्रदेशको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । यसैगरी, कञ्चनपुरको दैजीमा औद्योगिक कोरीडोरको पूर्वाधार निर्माण र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र बनाउनका लागि बजेट विनियोजन गरेको छ । 

यसैगरी, दोधारा–चाँदनी सुख्खा बन्दरगाहको काम अगाडि बढाउने भएको छ । कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । दार्चुलाको खलंगामा खानेपानीको काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छ । धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने भएको छ । मन्त्री शर्माले भाषणमा धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने बताएका हुन् ।

सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट बिनियोजन गरेको छ । कञ्चनपुरको भीमदत्तनगर र दोधरा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैया बिनियोजन गरेको छ ।  सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को वजेट भाषणमा कञ्चनपुरको भीमदत्तनगर र दोधरा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैया बिनियोजन गरेको बताएका हुन् ।

धनगढी विमानस्थलको स्तरोन्नतिको सम्भाव्यता अध्ययन गरिने, टीकापुर र डडेल्धुरा विमानस्थललाई सञ्चालनमा ल्याउने बजेटमा उल्लेख गरिएको छ । यसैगरी, महाकाली सिँचाइ तेस्रो चरणको परियेजनाका लागि  १ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । महाकाली सिँचाइ आयोजना अन्तर्गत ब्रह्मदेव क्षेत्रको २ हजार हेक्टरमा सिँचाइको समेत व्यवस्था गरिने बताइएको छ ।

कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।  सरकारले जलाशय युक्त ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाउने भएको छ ।यस्तै, कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र निर्माण र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र अगाडि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गरेको मन्त्री शर्माले बताए ।