कार्यपालिकालाई पूर्णता दिदैं कैलालीका स्थानीय तह
2022/06/01, 12:42
 
ss

कैलालीका केही स्थानीय तहले कार्यपालिकालाई पूर्णता दिएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिकाले कार्यपालिकालाई पूर्णता दिएका हुन । नयाँ जनप्रतिनिधि निर्वाचित भएको १५ दिनभित्र कार्यपालिकालाई पूर्णता दिनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार कैलारी गाउँपालिकाको कार्यपालिकाले पनि कार्यपालिकालाई पूर्णता दिएको छ ।

नेपाली काङ्ग्रेसको एकलौटी जित रहेको सो पालिकामा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवती चौधरी, नौ वटै वडाका वडा अध्यक्ष सहित गरेर १७ सदस्यीय कार्यपालिका बनाइएको हो । सो गाउँपालिकाको १ देखि ९ वडामा क्रमशः ध्वजहरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

कार्यपालिकाको महिला सदस्यमा सुन्दरी चौधरी, सुनिला चौधरी, टीकाकुमारी चौधरी भुल, जगमा चौधरी सर्वसम्मत चयन भएका छन् । यसैगरी, दलित अल्पसङ्ख्यकबाट कार्यपालिका सदस्यमा लालबहादुर विक र मनिराम कुमाल मनोनित हुनु भएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।  कार्यपालिकाका सबै पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण पनि गराइएको छ । 

यस्तै, धनगढी उपमहानगरपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ । पाँच जना महिला सदस्य र तीन दलित सदस्य निर्विरोध चयन भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।  उनले बुधबार कार्यपालिका सदस्यको घोषणा हुने बताए । मेयर उपमेयर र १९ वटै वडाका वडा अध्यक्ष सहित पाँच जना महिला सदस्य र तीन जना दलित सदस्य गरेर धनगढी उपमहानगरपालिकामा २९ सदस्यीय नगर कार्यपालिका बनेको छ । 

यस्तै, गोदावरी नगरपालिकाको कार्यपालिकाले पनि पूर्णता पाएको छ । नगर प्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा २२ सदस्यीय नगर कार्यपालिका गठन गरिएको हो । गोदावरीमा मेयर नेपाली काङ्ग्रेस र उपमेयर नेकपा (एमाले) बाट निवार्चित भएका छन् । यद्यपि, मेयरसहित सात जना वडा अध्यक्ष निर्वाचित भएकाले नेपाली काङ्ग्रेसको बहुमत रहेको छ । एमालेका तर्फबाट उपमेयरसहित चार जना वडा अध्यक्षमा निर्वाचित भए । वडा नम्बर ११ मा स्वतन्त्रबाट नेपाली काङ्ग्रेसका बागी उम्मेदवारले चुनाव जितेका थिए । 

सो पालिकाको कार्यपालिका सदस्यकाका लागि नेपाली काङ्ग्रेसको तर्फबाट इस्वरा नेपाली, बसन्तीदेवी थरुनी, डम्मरी शाह, शारदादेवी भट्ट र इश्वरी रावल कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यसैगरी, महादेव कामी, धनी कामी र चन्द्रादेवी भुल दलिततर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । निर्विरोध कार्यपालिका सस्यमा निर्वाचित भएको जनाइएको छ । उनीहरुले पनि शपथ ग्रहण गरेका छन् । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको १५ दिनभित्र कार्यपालिका गठन गर्नु पर्ने प्रावधान रहेको छ । सो प्रावधान अनुसार कैलालीका स्थानीय तहहरुले जेठ २० गते अगावै कार्यपालिकालाई पूर्णता दिने कार्य गर्न थालेका हुन ।  धेरै जसो स्थानीय तहले बुधबार कार्यपालिकालाई पूर्णता दिदैंछन् । स्थानीय तहको कार्यपालिकाको महिला सदस्य निर्वाचन जितेर आएका महिला सदस्यबाट चयन गर्ने प्रावधान रहेको छ । तर, दलित वा अल्पसङ्ख्य सदस्य भने निर्वाचित नभएकाबाट चयन गर्ने व्यवस्था छ ।

कार्यपालिकाका लागि दलित वा अल्पसङ्ख्य सदस्य निर्वाचित जनप्रतिनिधि नहुनु पर्ने तर सम्बन्धित पालिकाको मतदाता भने हुनु पर्ने प्रावधान रहेको छ । अबको दुई दिनभित्रै कार्यपालिकालाई पूर्णता दिने कार्य सम्पन्न भएर जेठ २० गतेबाट जिल्ला समन्वय समिति निर्वाचनको प्रक्रिया अगाडि बढाइने मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।