टीकापुरबाट छाला जुत्ता उत्पादन र कृषि मुख्य प्राथमिकता
2020/06/22, 11:44
 
bughet

टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रममा छाला जुत्ता उत्पादन र कृषि मुख्य प्राथमिकतामा पारिएकोे छ। नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को पारित नीति तथा कार्यक्रममा रोजगार सिर्जना गर्ने उद्देश्यले जुत्ता उद्योग र कृषि क्षेत्रलाई प्राथमिकतामा पारिएको छ।

कोभिड–१९ को प्रभाव कम गर्न कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र श्रम अभियान सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको छ ।उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त सुव्यवस्थित पर्यटकीय नगर बनाउने उद्देश्यले आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले सभालाई जानकारी दिए। 

‘‘टीकापुर नगरपालिकाको प्रतिबद्धता, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता’’ भन्ने नाराका सात शिक्षा नीति लिइएको छ। ‘‘झिकाउ, सिकाउ टिकाउ’’ भन्ने नाराका साथ बालबालिकालाई विद्यालय भर्ना गर्ने र  दिवा खाजा कार्यक्रम विस्तार गर्ने नीति छ। न्यून पारिश्रमिकमा काम गरिरहेका बालविकास सहजकर्तालाई प्रोत्साहन भत्ता दिने तथा ‘‘हामी सबैको रहर साक्षर टीकापुर शहर’’ भन्ने नारका साथ पूर्ण साक्षर नगर घोषणा गर्ने नीति लिइएको छ। 

महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथालगायत सम्पूर्ण गलत प्रचलन तथा प्रवृत्ति अन्त्य गर्र्दै लैङ्गिक समानतासहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण गर्न छाउपडी गोठमुक्त नगरपालिका घोषणा गर्ने नीति छ।  त्यस्तै “टीकापुर शहर, सडक मानवरहित नगर” कार्यक्रमअन्तर्गत आश्रयविहीन सडक मानवका लागि यथोचित व्यवस्था मिलाइने जनाइएको छ।