सुदूरपश्चिम सरकारको ७० प्रतिशत पुँजीगत बजेट खर्च हुनै बाँकी
2022/06/06, 12:56
 
ss

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भईरहँदा चालु आर्थिक बर्षको अधिकांश बजेट खर्च हुनै बाँकी रहेको छ । प्रदेशको कूल बजेटको ३६ प्रतिशत मात्र खर्च भएको तथ्याङ्क छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब ५५ करोड ४ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको प्रदेशले जेठ दोस्रो सातासम्म ११ अर्बको हाराहारीमा मात्र बजेट खर्च गर्न सकेको छ । 

केही समय कोरोना भाइरस र अहिले आएर निर्माण कम्पनीहरुले मूल्यवृद्धिको विरोध गर्दै काम नै ठप्प पारेपछि पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले बताए ।  प्रदेश सरकारले यो अवधिमा पुँजीगत खर्चको तुलनामा चालुतर्फ बढी खर्च गरेको छ । चालुतर्फ १२ अर्ब ४४ करोड ७३ लाख ९९ हजारमध्ये ५ अर्ब ६५ करोड खर्च भएको छ । विकासतर्फको बजेट अझै ७० प्रतिशत कार्यान्वयन हुन बाँकी छ । प्रदेश सरकारले विकास बजेटतर्फ १८ अर्ब १० करोड ३० लाख ५५ हजार विनियोजन गरेको थियो। प्रदेशमा सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ८५ करोड २८ लाख १८ हजार पुँजीगत बजेट विनियोजन गरिएकोमा ४ अर्ब खर्च भएको छ । प्रदेशको दोस्रो ठूलो बजेट विनियोजन भएको सामाजिक विकास मन्त्रालयको पनि खर्च प्रतिशत सन्तोषजनक छैन । सो मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब ३६ करोड ८५ लाख ८९ हजार रकम विनियोजन भएकोमा ९३ करोड मात्र खर्च भएको छ। मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयको खर्च प्रतिशत सबैभन्दा कम छ । सो मन्त्रालयको पुँजीगततर्फ ८ करोड ४४ लाख २२ हजार विनियोजन भएकोमा एक करोड १२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट गत विगतकै हाराहारीमा खर्च हुँदै आएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले बताए ।