चन्दा उठाएर किनिएको मेसिन जडान हुदैं
2020/06/23, 8:07
 
korona

ह्युमनिटी फाउन्डेसनले चन्दा संकलन गरी डडेलधुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ । विदेशबाट समेत दाताहरूले रकम उपलब्ध गराएपछि पीसीआर मेसिनलगायत सामग्री खरिद गरिएको हो । धनगढीमा रहेको फाउन्डेसन र सुदूरपश्चिम अमेरिकी समाजले सामाजिक सञ्जालबाट अभियान सुरु गरेका थिए ।

गत जेठ २ गतेदेखि भारतबाट फर्किरहेका नेपालीलाई सीमामा निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका धनगढीका व्यवसायी श्याम तायल, पुष्कर ओझा, मानसिंह साउँद, पत्रकार दीर्घराज उपाध्याय लगायतको नेतृत्वमा चन्दा संकलन अभियान सुरु भएको थियो ।

पीसीआर मेसिन र अन्य सामान सहित ९६ लाख लागतमा प्रयोगशाला स्थापना हुने फाउन्डेसनका अध्यक्ष श्याम तायलले बताए । ‘मेसिन मात्र ३५,४० लाखमा आउँदो रहेछ,’ उनले भने, ‘यसमा चाहिने अन्य सामाग्री सहित ९६ लाख खर्च लाग्ने भएको हो ।’ मंगलबार इन्जिनियर र प्राविधिकको टोली आएपछि मेसिन जडान सुरु गरिने डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सुदूरपश्चिमको सेती प्रादेशिक प्रयोगशाला धनगढीमा एक मात्र पीसीआर मेसिन छ । त्यहाँ दैनिक २ सयदेखि २ सय ५० स्वाब परीक्षण भइरहेको छ । परीक्षण क्षमता कम हुँदा थन्किएका स्वाब पछिल्लो साता केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाइएको छ । प्रदेश सरकारले पीसीआर मेसिन थप्न ढिलाइ गरेपछि स्थानीयको पहलमा चन्दा संकलन गरी मेसिन खरिद गरिएको हो ।