वर्षौंदेखि लिलाम नहुँदा भन्सारमै थन्किए गाडी
2022/06/08, 4:08
 
aa

वर्षौंदेखि लिलाम हुन नसकेपछि कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरू भन्सारमै थन्किएका छन् । वर्षौदेखि राखिएका ती सवारी साधन कतिपय जीर्ण पनि भइसकेका छन् । कतिपयका सामानहरू समेत निकालिसकिएका छन् ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका अवैध सवारी साधनहरू लामो समयदेखि भन्सारमै थन्किएका छन् । कतिपय त कामै नलाग्ने समेत भइसकेका छन् । गड्डाचौकी भन्सार कार्यालयमा अहिले चार पांग्रे र दुई पांग्रे गरी ४ सय बढी सवारी साधन छन् । जसमा अधिकांश मोटरसाइकल छन् । चार पांग्रे सवारी साधन १५ मात्रै छन् ।

भन्सार कार्यालयले सवारी साधन लिलाम नगरेको ४ वर्ष भन्दा बढी भइसकेको छ । उत्पादन भएको १० वर्षपछि यातायात कार्यालयमा दर्ता हुँदैन । १० वर्ष नाघेका सवारी साधन काटेर लिलाम गर्नुपर्ने हुन्छ । यसले एकातिर राजस्व घट्छ भने अर्कोतिर सवारी साधन उपयोगमा नआएरै काटनुपर्ने हुन्छ ।

गड्डाचौकी भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले सवारी साधनको लिलामका लागि प्रक्रिया सुरु भएको बताए । १७७ मोटरसाइकलको उत्पादन र मोडेल खुलेर आएकाले अब तिनको मूल्यांकन गरेर प्रक्रिया अगाडि बढाइने बताए । उनले मूल्यांकनकर्तालाई पनि बोलाई सकिएको बताए ।

सवारी साधन लिलामबाट मात्रै ५० लाख बढी राजश्व संकलन हुने अनुमान गरिएको छ । चार पांग्रे सवारी साधनको लिलामका लागि पनि छिट्टै प्रक्रिया अघि बढाइने विश्वकर्माले बताए ।