कैलालीको गोदावरी नगरपालिका–४ समाधिगडाकी गीता खड्का दाउरा र फूल-प्रसाद बेच्ने काम गर्दै आएकी छन्। गोदावरीधाममा पूजा तथा धार्मिक कामका लागि आउनेलाई फूल, टिका, प्रसाद, धुपजस्ता सामाना बेच्न उनले नदी किनारमा त्रिपाल बिछ्याएर पसल थाप्ने गरेकी छन्। फुर्सदको समयमा उनी अत्तरिया बजारमा दाउरा बेच्ने काम गर्छिन्।
यी कामले उनलाई घरखर्च र २ छोरालाई पढाउन पुग्छ। तर बर्खामा गोदावरी नदीमा आउने बाढी र यसले गरिरहेको कटान उनको जीन्दगीमा सबैभन्दा मुख्य समस्या बनेको छ। असारदेखि असोजसम्म गोदावरी खोलामा आउने बाढीले पिठ्युँमा बोकेर सामान बेच्ने ठाउँसम्म जान रोकिदिन्छ। खोलामा पुल छैन। अर्को पुलसम्म पुग्न निकै माथिबाट घुमेर जानुपर्छ। 'बाढी तरेर जाँदा दाउरा भिजेर बोक्न सकिँदैन। चप्पल बग्छ,' उनले भनिन्।
उनको बस्तीमा स्कुल छैन। अत्तरियाका स्कुल पढ्ने केटाकेटी हिउँदमा पानी नहुने भएर खोलाकै बाटो जान्छन् तर बर्खामा समस्या हुन्छ। ‘काम छोडेर भए पनि पुर्याउन जानुपर्छ। बच्चालाई नपढाउ भने भएन। खोला तार्न हामी सक्दैनौं। जंगलको बाटो छ,’ उनले भनिन्। उनको बस्तीका २०/२५ जना केटाकेटी अत्तरियाका स्कुल पढ्न आउँछन्। ६० घरधुरी रहेको समाधिगडामा स्कुल नभएकाले उनीहरूलाई यस्तो समस्या भएको हो। बोर्डिङ स्कुलले माथि पुलसम्म बस पठाइदिनाले त्यहीँ उनका केटाकेटी पढ्छन्।
नदी कटानको अर्को समस्याले पनि उनलाई हैरान बनाउँछ। ‘अहिले नदीले कटान गरेर बाटो छैन, केटाकेटी चिप्लेर खोलामा लड्ने हुन् कि भन्ने पिर छ,’ उनले भनिन्। पारि तटबन्ध गर्ने माग गर्दा नेताले झपार्ने गरेको उनको दुखेसो छ। यहाँका जनता सबैले यो विषयमा कुरा उठाए हुन्थ्यो जस्तो उनलाई लाग्छ। मिडियासम्म कुरा पुर्याइदिएकोमा कसैले केही भन्लान् कि भन्ने पनि उनलाई अप्ठेरो लागेको रहेछ। ‘कटान रोकेर पारीको जंगल र बाटो बचाउने उपाय कसले खोजिदेला, बर्खामा आए देख्नुहन्थ्यो,’ उनले भनिन्।
अर्की स्थानीय पार्वती खड्काले नदी कटानले गोदावरी धाम जोखिममा रहेको बताइन्। उनले धामसँगै त्यस तलका बस्तीहरु बचाउन तत्कालै सक्दो उपाय अपनाउनुपर्ने उनको भनाइ छ। २० वर्षदेखि गोदावरी धाममा बसिरहेका साधु तुलसी गिरीले धाम क्षेत्र आसपास रहेका गौतम बुद्धको मुर्ति, दोगणे मन्दिर, हनुमान मन्दिर, आर्यघाट, वनजंगल र नदीनाला देखाएर बजेट ल्याउनेले धाम संरगणमा चासो नदीएको बताए। कुम्भ मेला समेत लाग्न थालेपछि केन्द्र सरकारकै नजरमा गोदावरी धाम पर्यटकीय महत्वको क्षेत्रका रूपमा रहेको छ। अहिले पनि धामको विकासका लागि गुरूयोजना बनाएर हरेक साल तीन करोड रूपैयाँ यहाँ आइरहेको छ। त्यो पैसाले तटबन्धको कार्य प्रभावकारी रुपमा हुन नसकेको उनको भनाई छ।
‘यो धामको मूल प्राचिन मन्दिर कटानको बढी जोखिममा छ। सँगै रहेको बरको रूखका जरा देखिएका छन्। त्यसैको जरामा थान छ, पारि तटबन्धको जरूरत छ, यहाँ तटबन्ध भए पारिका बस्ती बचाउन सकिन्थ्यो,’ उनले भने। धाममा मात्रै होइन, आसपासका समाधिगणा, ओलानी गौडी जाने बाटो पनि कटानले प्रभावित भएको उनले बताए।
‘मन्दिरलाई मात्र नभएर हजारौं घरधुरीलाई समस्या छ, राज्यबाट बजेट आए पनि काम भएको छैन, म जस्ता जोगी त कति आए कति गए तर आफू बसेको ठाउँ राम्रो होस्, बचोस् पछिका पुस्ताले यसको संरक्षण भएको देख्न पाउन्,’ उनले भने। धामको तलतिर सुदूरपश्चिमको राजधानी तोकिएको क्षेत्र पर्छ। यसको दक्षिणतिर पर्ने अत्तरिया बजार क्षेत्र पनि कटानले ध्वस्तै गर्न सक्ने जोखिम रहेको उनको बुझाई छ।
अहिले गोदावरी नगरपालिकाले तयार नेपालसँगको सहकार्यमा कुम्भमेला लाग्ने स्थानतिर डेढ सय मिटर तटबन्ध लगाएको छ। त्यसको वरपर जैविक तटबन्धका रूपमा घाँस लगाइएको छ। यो तटबन्धले धाम क्षेत्रमा अलिकति भए पनि कटान रोक्न सक्ने स्थानीय बताउँछन्। केही तटबन्ध भएर मात्र धाम क्षेत्र र आसापासका बस्तीको जोखिम नहट्ने भएकोले पूर्ण रूपमा तटबन्ध र आवतजावत गर्न पुल निर्माण गर्नुपर्ने माग सो क्षेत्रका स्थानीयहरुको रहेको छ।
यस विषयमा गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भट्ट अहिले कामका विषय यकिन के भइरहेको छ भन्ने थाहा नभएको बताउँछन्। ‘काम त त्यहाँ आगामी योजना के हुन्छ भन्ने केही दिनमा थाहा हुन्छ’, उनले भने। सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गसँगै यो धाम जोडिएको छ। यो क्षेत्रलाई सप्तगोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ। वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख छ। साथै, गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ।
मुख्य मन्दिर गोदावरी नदीको पारी छ। २०२६ सालमा पुननिर्माण भएको यो मन्दिरको स्थापना कहिले भयो भन्ने यकिन छैन। यहाँ माघी र शिवरात्रीमा ठूलो मेला लाग्छ। गोदावरी धामका अध्यक्ष पदमराज जोशीले नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण हुनु राम्रो भए पनि पर्याप्त नभएको बताए। गोदावरी धाम संरक्षणका लागि करिब १ किलोमिटर तटबन्ध आवश्यक पर्ने उनको भनाइ छ। गोदावरी धामको संरक्षण र विकासका लागि गोदावरी नगरपालिकामार्फत डीपीआर बनिसके पनि काम अगाडि बढ्न सकेको छैन। ‘यो धार्मिक र पर्यटकीय क्षेत्रको एकीकृत रूपमा डीपीआरअनुसार काम गर्न आवश्यक छ,’ जोशीले भने।