रन्जितालाई साक्षी राखेर जेलभित्रै बाबुराम र रेशम चौधरीको वार्ता
2022/06/18, 7:46
 
ss

रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् ।शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए ।

भट्टराईलाई चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए । उनीहरु दुबैबीच करिब ४५ मिनेट छलफल भएको थियो । आफू कहि कतै संलग्न नरहेको बताउँदै राज्यबाट निर्दोष थारुहरुमाथि ज्यादती भएको समेत उनले बताए । भट्टराईले यस विषयमा सरकारसँग गम्भीर रुपले कुरा राख्ने समेत चौधरीलाई आश्वासन दिएका थिए ।

२०७२ साल भदौ ७ गते टिकापुर घटना ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । आज भट्टराईसँगको भेटघाटमा पनि चौधरीले त्यही प्रष्ट पारेका थिए । आज भट्टराईको जन्मदिन समेत परेको थियो । चौधरीले भट्टराईलाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।

जेलभित्र रहेका रेशम चौधरीलाई भेट्न हिजोमात्र सिके राउत पुगेका थिए । करिब ४५ मिनेटको भेटघाटमा भट्टराई र चौधरीले कफी मगाएर पनि खाएका थिए । भेटमा भट्टराई र चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि थिइन । उनी चौधरीकी धर्मपत्नी हुन् ।