वर्षा नहुँदा किसानलाई रोपाईं गर्न समस्या
2022/06/18, 7:52
 
ss

डडेल्धुरामा वर्षा नहुँदा किसानलाई धान रोपाईं गर्नु समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानलाई रोपाईं गर्न मुस्किल भएको हो।  नदीमा पानीको सतह कम भएको र पाइपबाट खेतमा पानी लगेर सिँचाई गर्दा घण्टौ समय लाग्ने किसानले दुखेसो गरेका छन्। 

जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाईं गर्न सुुरु गरेका थिए। तर, असारको महिनालाग्दा पनि पानी नपर्दा किसानहरुले धान रोपाईं रोक्नुपरेको छ। रोपेका खेतका धान पनि सुक्न लागेको कृषक रमेश हमालले बताए। ‘पानीका मुलहरु सुुकेको हुँदा पानीको जोह गरेर रोपाई गरिराखेका छौं। वर्षा नहुँदा ती धान सुक्न लागिसके’ उनले भने। 

असार पहिलो हप्तामै डडेल्धुराका अधिकांश ठाँउहरुमा रोपाईं सकिन्थ्यो। तर, हालसम्म डडेल्धुरामा १० प्रतिशत खेतमा मात्र धान रोेपाईं भएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।  किसानलाई रोपाईं ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ। सरकारले खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था मिलाउनुपर्ने जिल्लाका किसानले आग्रह गरेका छन्।  डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ।