मल उपलब्ध गराउन कैलालीका किसानको माग, मुख्यमन्त्रीको विरोध 
2022/06/24, 5:51
 
ss

रासायनीक मलको आपुर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै कैलालीका किसानले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। अखिल नेपाल किसान महासंघले कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो। 

अखिल नेपाल किसान महासंघ कैलालीका अध्यक्ष जयरुप खतिवडाद्वारा हस्ताक्षतिर ज्ञापन पत्रमा किसानहरुले मुख्य बाली लगाउने समयमा देशैभरी मलको चरम अभाव छ। ‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गइ खाद्य सुरक्षामा समेत नआउला भन्न सकिदैन। रासायनीक मलको आपुर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गर्दछौँ,’ भनिएको छ। 

सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य घटाएर राहत दिन समेत माग गरिएको छ। किसान महासंघले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि समेत विरोध प्रर्दशन गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापन पत्र बुझाउने तयारी भएपनि उनको सचिवालयले समय उपलब्ध नगराएको भन्दै किसानहरु फिर्ता भएका छन्। 

तर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने किसानहरु मुख्यमन्त्री भट्ट कार्यालय नभएका बेला ज्ञापन पत्र बुझाउन आएकाले समस्या भएको बताउँदै कर्मचारीले बुझिदिने भन्दा किसानले अस्वीकार गरेको दाबी गरेको छ।