कैलारी गाउँपालिकाको बजेट ५९ करोड २५ लाख रुपैयाँ
2022/06/24, 6:01
 
ss

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।  

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा आज भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन ।

चालू आर्थिक वर्ष २०७८/७९ का लागि गाउँपालिकाले ६३ करोड ५१ लाख ८५ हजार रुपैयाँ बजेट ल्याएको थियो । यस पटक घटेको छ । 

No description available.
सो गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन÷प्रशासनिक (चालू) तर्फ १० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी, समपूरक कोषतर्फ छ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

झोलुङ्गे पुल लागत साझेदारीतर्फ २० लाख, मर्मत सम्भार कोषका लागि ४७ लाख २१ हजार, दमकल खरिद तथा व्यवस्थापनमा ३५ लाख, भूमि व्यवस्थापन (भूमि आयोग)का लागि २० लाख, डिजिटल प्रोफाइलका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 
यसैगरी, विस्तृत परियोजना प्रतिवेदनका लागि २५ लाख, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि १५ लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख, क्षमता विकास तथा रोजगार कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य बीमाका लागि आर्थिक सहयोगतर्फ पाँच लाख, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमतर्फ १५ लाख, विशेष अनुदान कार्यक्रम, अध्यक्ष स्वरोजगार कार्यक्रम, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५÷१५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
विधेयक समिति र न्यायिक समितितर्फ तीन÷तीन लाख गरी गाउँपालिकाले विनियोजनतर्फ कुल ४८ करोड ३५ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

यसैगरी, विषयगत समिति अन्तर्गत पूर्वाधार विकास समितिका लागि तीन करोड, आर्थिक विकास समितिका लागि दुई करोड ५० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, सामाजिक विकासतर्फ तीन करोड ९० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३० लाख, लक्षित वर्ग कार्यक्रमतर्फ एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गाउँपालिकाले प्राप्त गर्ने आम्दानीमा सङ्घीय सरकारबाट प्राप्त हुने ५४ करोड ३३ लाख १० हजार, प्रदेश सरकारबाट प्राप्त हुने एक करोड ७७ लाख ६१ हजार रुपैयाँ रहेको छ । यसैगरी, आन्तरिक आम्दानीमा तीन करोड १४ लाख ५० हजार रुपैयाँ रहेको गाउँपालिकाका उपाध्यक्ष चौधरीले बताए । 

यसअघि, आजै गाउँपालिकाका अध्यक्ष चौधरीले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले विगतमा भए÷गरेका असल अभ्यासहरुलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीहरुलाई न्यूनीकरण गर्नुका साथै समावेशी सिद्धान्तको आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए ।  यसैगरी, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासंग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे । 

कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालहरुको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकास लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, भलमन्सा लगायत सरोकारवालासंग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ । 

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसंग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपक्षी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँ सभाको अर्को बैठक असार १६ गते बोलाइएको छ ।