धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ । शनिवार एक कार्यक्रमका बिच पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्तरोन्नतिको कार्यको शिलान्यास गरेका हुन् ।
उनले धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन्। उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि एक अर्ब बजेट विनियोजन गरेको थियो। क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो। सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको थियो।
तर, आगामी वर्षका लागि ल्याइएको बजेटमा भने सम्भाव्यता अध्ययन गर्न एक अर्ब ५ करोड दिने उल्लेख गरिएको छ। त्यो पनि ऋण प्राप्त भएपछि मात्रै धनगढीले बजेट पाउने बताइएको छ।