दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजीकार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन
2022/07/07, 4:03
 
ss

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन्।

सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जानकारी दिए।

बुढाथोकी बुधबार दिउँसो ३ः३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।