बाजुराको बुढीगंगामा मतदान सकियो, कति खस्यो मत ?
2022/07/07, 6:51
 
ss

बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले बताए। 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।

बिहीबार सम्पन्न मतदानमा ६६.७५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत कठायतले जानकारी दिए। मतदान सम्पन्न भएको ठाउँमा मुचुल्का तयार गरेर मतपेटिका संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ। मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसेर मतगणना बारे निर्णय गरिने छ। बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो। 

उक्त मतदान केन्द्रमा दुईपक्षीय झडपले तनावको स्थिति सिर्जना भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो। बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्। नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन्।