सुदूरपश्चिम प्रदेशमा ५ कप चिया र चाउचाउका लागि मन्त्रीको ‘तोक’ ! 
2022/07/10, 12:12
 
ss

सुदूरपश्चिम प्रदेशका एक जना मन्त्रीले चियाकालागि खाली कागजमा ‘तोक’ लगाएको कुरा सुन्दा तपाई पत्यार नलाग्न सक्छ । तर प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले पाँच कप चियाका लागि आफ्नो हस्ताक्षरसहित ‘तोक’ लगाएको चिट सार्वजनिक भएको छ । सत्तारुढ दलकै सांसदहरुले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा रहेको असन्तुष्टि सम्बोधन गर्न अर्थमन्त्री प्रकाश रावल र राज्यमन्त्री साउदले वास्ता नगरेको आरोप लगाइरहेका बेला उनले चियाका लागि भन्दै ‘तोक’ लगाएको भेटिएको हो ।

कार्की चिया नास्ता पसललाई काटिएको उक्त चिटमा राज्य मन्त्री साउदले २५ पिस चाउचाउ, ४८ पिस बिस्कुट र पाँच कप चिया उल्लेख गरिएको छ । १२ असारमा मिति राखिएको उक्त चिटमा अर्थराज्यमन्त्री साउदको नाम अंकित छाप मात्र छैन त्यसमा उनले हस्ताक्षर समेत गरेका छन् ।मन्त्री जस्तो मान्छेले पाँच कप चियाका लागि आफ्नो छाप प्रयोग गरेर चिट काटिएको भन्दै आलोचना भइरहेको छ । यो विषयमा प्रतिक्रिया लिन उनलाई सम्पर्क गरेपनि फोन उठेन । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सिद्धराज जोशीले आफू बाहिर गइरहेको भन्दै उक्त विषयमा धेरै कुरा थाहा नभएको बताउँछन् ।

मन्त्रीले पाँच कप चियाका लागि खाली कागजमा ‘तोक’ लगाएको विषयमा मन्त्रालयभित्रै हलचल मच्चाएको स्रोतको दाबी छ । ‘मन्त्रालयमा अतिथि सत्कार वा अन्य समयमा चिया तथा खाजा कर्मचारीहरुले व्यवस्थापन गर्ने गरेका छन । यति सानो कुरामा मन्त्रीले हस्ताक्षर गर्नु थिएन,’ एक कर्मचारीले भने, ‘तर उहाँले प्राविधिक कुरा थाहा नपाएर पनि हस्ताक्षर गर्नुभएको हुनसक्छ । यसलाई धेरै ठूलो बनाउनु हुँदैन् ।’आफैले ल्याएको बजेटमाथि प्रदेशसभामा छलफल गर्ने वातावरण बनाउन नसकेका मन्त्री चियाको कपमा ‘तोक’ लगाउन व्यस्त भएको भन्दै आलोचना भएको छ।