सुदूरपश्चिममा बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेसको निर्णय
2022/07/10, 12:15
 
ss

सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए ।‘यो बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने, नगरेको अवस्थामा अरु कुरा गर्न सकिदैन भनेर हाम्रो संसदीय दलले निर्णय गरेको छ,’ खड्काले भने । बैठकले गरेको बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने उनले बताए ।

उनका अनुसार संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए । सामाजिक विकास मन्त्री बोहरा आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुगेका थिए ।

उनी काठमाडौंबाट फर्किएपछि बसेको संसदीय दलको बैठकबाट गरिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन ।

माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिएको छ । बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि यो पार्टीका अधिकांश प्रदेशसभा सदस्य यथास्थितिमा बजेट पारित गर्न नसक्ने पक्षमा रहेका छन् । नेकपा एमालेले त बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि २५ असारसम्म प्रदेशसभामा बजेट छलफल हुन सकेको छैन ।