एमाले बझाङमा भद्रगोल : अध्यक्षले नै प्रतिनिधि नचिन्दा निर्वाचन स्थगित गरियो
2022/07/10, 3:40
 
dd

नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशनमा भद्रगोल भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष भैरवबहादुर सिंहले निर्वाचन प्रतिनिधि बनेका व्यक्ति को हुन् ? भन्ने नै स्पष्टता नभएको भन्दै आठौँ अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । लगत्तै त्यसको 'काउन्टर'मा निर्वाचन कमिटीले पनि विज्ञप्ति निकालेको छ । 

निर्वाचन कमिटीले उम्मेदवारको नामावली प्रकाशन र मतपत्रसमेत छपाइसकेको छ । अध्यक्ष मण्डलले मनपरी ढंगले अधिवेशन स्थगितको सूचना जारी गरेपछि आफू पनि सूचना जारी गर्न बाध्य भएको निर्वाचन कमिटीले जनाएको छ । 

यता, उम्मेदवारी दिएकाको मापदण्ड नपुगेको, उजुरी परेको, लेवी नतिरेको लगायतका कारण देखाउँदै एमाले ८औं जिल्ला अधिवेशन स्थगित गर्नुपरेको अध्यक्ष मण्डलका अध्यक्षसमेत रहेका सिंहले बताएका छन् ।

सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन प्रक्रियामा जाँदैगर्दा प्रतिनिधिको स्पष्टता नभएको, हाजिरी नभएको र को हुन् भन्नेसमेत स्पष्टता नभएको देखिएको छ ।' निर्वाचन अस्वस्थ, धाँदलीयुक्त हुने भएकाले अधिवेशन स्थगित गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

a

यता, निर्वाचन कमिटीले अध्यक्ष मण्डलले आफूसँग परामर्श नगरी एकलौटी ढंगले निर्वाचन नहुने भनेर प्रतिनिधिलाई घर पठाएको आरोप लगाएको छ । अध्यक्ष मण्डलले मनपरी ढंगले अधिवेशन स्थगितको सूचना जारी गरेपछि आफू पनि सूचना जारी गर्न बाध्य भएको निर्वाचन कमिटीले जनाएको छ । 

‘अध्यक्ष मण्डलको जिम्मेवारीमा रहेको प्रतिनिधिहरूको हाजिरी, प्रतिनिधि पहिचान, लेवी तथा दायित्व र उम्मेदवारको मापदण्डसम्बन्धी विवादमा पार्टीको संगठन विभागले प्रमाणित गरिदिएका विषयमा समेत आफू जिम्मेवारीबाट पन्छिँदै अध्यक्ष मण्डलले निर्वाचन कमिटीलाई दोषी देखाएको छ । यी तथ्यबिनाका कोरा कुरा मात्रै हुन्’ निर्वाचन कमिटीले जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन कमिटीले उम्मेदवारको नामावली प्रकाशन र मतपत्रसमेत छपाइसकेको छ । अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।