प्रदेश राजधानीको निर्णय उल्टाउन सकिन्छ: राज्यमन्त्री रैका
2022/07/12, 1:13
 
ss

सुदूरपश्चिम प्रदेश राजधानीको निर्णय उल्टाउन सकिने प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अभिव्यक्ति दिएका छन् । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सोमबार डोटीको दिपायलमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री रैकाले आउने निर्वाचनपछि डोटीमा राजधानी तोक्न सकिने बताएका हुन् । 

‘सम्भावना र लगानी नै लगाउन नसकिने क्षेत्रमा स्थायी राजधानी तोकिनुभन्दा पर्याप्त सरकारी संरचना र भवनहरू भएको तत्कालीन क्षेत्रीय सदरमुकाममै राजधानी तोक्नु पथ्र्यो’ मन्त्री रैकाले भने,’दिपायलमा अझै पनि राजधानी फिर्ता ल्याउँन सकिन्छ ।’

प्रधानमन्त्री देउवा जस्तै मन्त्री रैकाले पनि राजधानीका लागि डोटेली मतदातासँग भोट मागे । उनले भने, ‘आगामी निर्वाचनमा जनताले विवेक र्पुयाएर मतदान गरेमा आउने सरकारले राजधानीको निर्णय उल्ट्याउन सक्छ ।’ उनी थप्छन् ‘म पनि डोटीमा राजधानी कायम गर्नका लागि कहाँ अनसन बस्नु पर्छ, कहाँ आन्दोलन गर्नु पर्छ, कहाँबाट निर्णय गराउनु पर्छ तयार छु ।’ 

सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको चार बर्ष पुग्न लाग्दासमेत राजधानी तोकिएको ठाउँमा कुनै संरचना निर्माण हुन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउने ठाउँको जमिनको स्वामित्वसमेत लिन सकेको छैन ।राजधानी जंगलमा राखेको भन्दै आलोचना भइरहेकै बेला सरकारी ओहदाका व्यक्तिहरू भने राजधानी सार्न सकिने भाषण गर्दै हिँडेका छन् ।