दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहः चर्चा धेरै, काम थोरै
2022/07/12, 1:17
 
ss

दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको चर्चा सुरु भएको एक दशकभन्दा बढी भयो । पटक–पटक सम्भाव्यता अध्ययनदेखि स्थलगत अनुगमन पनि भइरहेको छ । सुख्खा बन्दरगाहका निर्माणमा हालसम्म ठोस प्रगति भने भएको छैन । सरकारको हरेक वर्षको नीति तथा कार्यक्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय सम्बोधन हुने गरेको छ ।

तर हालसम्म सम्भाव्यता अध्ययनबाहेक कुनै प्रगति भएको छैन । पछिल्लो पटक भने सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० को काम भइरहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सोमबार पनि नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको स्थान दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वनको स्थलगत निरीक्षण गरेको छ । टोलीले जमिनको अवस्थादेखि भारसँगको पहुँच आदिका विषयमा जानकारी लिएको हो । ‘अहिले हामीले वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेका छौं, यो काम सकिएपछि डीपीआर तयार हुनेछ,’ इन्टरमोडल यातायात विकास समितिका निर्देशक शाहीले भने ।

मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब ४ सय विघा जमिनमा सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्नेछ । यसअघि पनि उक्त क्षेत्रमा पटक पटक विभिन्न मन्त्रीहरूले स्थलगत अनुगमन गरिसकेका छन् । सुरुमा दोधारा चाँदनी ७ को कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माणको चर्चा चलेको थियो । उक्त क्षेत्रमा पनि विभिन्न पटक अध्ययनसँगै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले स्थलगत अनुगमन गरेका थिए । मन्त्रीहरूले पनि विभिन्न पटक औपचारिक रूपमै अनुगमन गरिसकेका थिए । स्थानीयको विरोधपछि गत वर्षदेखि मायापुरी र गौरीशंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको हो ।

उक्त क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि १० वर्षअघि विश्व बैंकले पनि अध्ययन गरेको थियो । ५ वर्षअघि इन्टरमोडल यातायात विकास समितिले पनि अध्ययन गरेको हो । प्रारम्भिक अध्ययनअनुसार सुक्खा बन्दरगाह निर्माणका लागि करिब ५ अर्व लाग्ने अनुमान गरिएको हो । त्यतिबेला महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माण भएको थिएन । तर अहिले पक्की पुल र पहुँच मार्गको काम अन्तिम चरणमा पुगेको छ ।

सुक्खा बन्दरगाहकै पूर्वाधारका रूपमा यसलाई लिइएको छ । मायापुरी सामुदायिक वनसम्मै ६ लेनको पहुँच मार्ग निर्माण भइरहेको छ । ‘हामीले पनि सुक्खा बन्दरगाहको काम चाँडो हुनुपर्छ भन्दै आएका छौं, केन्द्रमा त्यहीअनुसार दबाब पनि दिइरहेका छौं,’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले भने, ‘यस पटकको बजेटमा केही पैसा पनि छुट्याएको छ, यसले छिट्टै काम सुरु हुन्छ भन्ने आशा छ ।’

भारततर्फ सुक्खा बन्दरगाह कै लागि पहुँच मार्ग निर्माणको प्रक्रिया अघि बढिसकेको छ । यस क्षेत्रका उद्योगी व्यवसायीले भारत उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई भेटेर सुक्खा बन्दरगाह निर्माणको काम चाँडो सुचारु गर्न आग्रह गरेका थिए । धामीले आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।