टीकापुर बसपार्क सञ्चालनमा आयो
2022/07/17, 2:51
 
tikapur

टीकापुर बसपार्क सञ्चालनमा आएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले आज औपचारिक रुपमा बसर्पाकको उद्घाटन गरेसँगै बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्कको उद्घाटन गर्दै नगर प्रमुख थारुले टीकापुरको विकासका लागि यो पनि एउटा आधार भएको बताउँदै यसलाई राम्रोसँग सञ्चालन गर्न सञ्चालन समितिलाई निर्देशन दिए। उनले बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङको समस्या समाधान भई यसले दुर्घटना न्यूनिकरणमासहयोग पुग्ने अपेक्षा व्यक्त गरे । बसपार्क भित्र वाईफाई र सिसी क्यामेरा जडानको काम बाँकी रहेको र यसलाई पनि नगरपालिकाले चाँडै सम्पन्न गर्ने प्रमुख थारुले बताए । 

 अमिक्षा कन्स्ट्रक्सन र टीकापुर नगरपालिका बिच नगरपालिकालाई ५५ लाख ३८ हजार २५५ रुपैयाँ दिने गरी ३ वर्षको लागि ठेक्का सम्झौता भएको छ । बसपार्क नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत राजेन्द्र रोयल जेभि धनगढीले  भ्याट वाहेका ८ करोड, ३३ लाखमा निर्माण गरेको हो । 

सञ्चालनमा आएको बसपार्क भित्र एक तले टर्मीनल भवन, त्यसमा टिकट काउन्टर, रेस्टुरेन्ट, महिला÷पुरुष शौचालय बनेको छ भने लामो र छोटो दुरीका बस, माइक्रो बस, ट्याक्सी, अटो र इ रिक्सा, बाइक अलग अलग स्थानमा पार्किङ, फायर हाइरेष्ट सिस्टम र खानेपानीको पनि व्यवस्था रहेको छ । 

बसपार्कमा बस, ट्रक, मिनी बस प्रवेश शुल्क ५० रुपैयाँ, विङगर, हाइस प्रवेश शुल्क ४० रुपैयाँ, अटो र ई रिक्सा प्रवेश शुल्क १५ रुपैयाँ तोकिएको छ । यस्तै  बस, ट्रक, मिनी बस रात्रि बसाई शुल्क १५० रुपैयाँ र विङगर, हाइसको रात्रि बसाई शुल्क १२० रुपैयाँ तोकिएको अमिक्षा कन्स्ट्रक्सनले जनाएको छ ।