शुक्लाफाँटामा दोब्बर बढे बाघ, कसरी होला व्यवस्थापन ?
2022/07/30, 5:57
 
dd

बार्हसिङ्गाका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सङ्ख्या दोब्बरले वृद्धि भएको छ । सन २०१८ मा यहाँ १६ वटा बाघ रहेकोमा पछिल्लो समय २०२२ मा गणना गर्दा सङ्ख्या ह्वात्तै बढेर ३६ पुगेको छ । चार वर्षमा शुक्लाफाँटामा २० वटा बाघ बढेका छन् । विश्व बाघ दिवसको अवसर पारेर शुक्रबार बाघ गणनाको नतिजा सार्वजनिक गरिएको छ । 

शुक्लाफाँटामा बाघ सङ्ख्या दोब्बरले बढेपछि निकुञ्ज कार्यालयले सोही अनुसार व्यवस्थापनको रणनीति अगाडि बढाएको छ । बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि दुई किसिमको व्यवस्थापन रणनीतिका साथ अगाडि बढेको सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । 

‘पहिलो कुरा हामीले आन्तरिक व्यवस्थापनमा जोड दिएका छौं । जस अन्तर्गत बासस्थान व्यवस्थापन, पानी, घाँसे मैदान व्यवस्थापन लगायत रहेको छ’, उनले भने । ‘अर्को मानवलाई निकुञ्ज क्षेत्रभित्र पस्न नदिनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन, चोरी सिकार नियन्त्रण लगायत रहेको छ ।’

मुलुकको विभिन्न क्षेत्रमा मान्छे जङ्गल पसेपछि नै बाघले आक्रमण गरेर ज्यान लिएका घटना बढी छन् । त्यसैले मान्छेलाई जङ्गलभित्र जान नदिने उपाय अम्बलम्बन गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको सहायक संरक्षण अधिकृत ऐरले बताए ।  कञ्चनपुरमा रहेको कान्छो राष्ट्रिय निकुञ्ज शुक्लाफाँटामा बाँके राष्ट्रिय निकुञ्जभन्दा पनि बढी बाघ बढेपछि उत्साहसंगै चुनौती पनि थपिएको छ । बाघ लजालु र हिंस्रक प्राणी रहेकाले बाघ र मानवबीचको द्वन्द्व कसरी शून्य बनाउने, त्यो चुनौतीको विषय बनेको हो । 

बर्दिया, बाँके र चितवन राष्ट्रिय निकुञ्जका बाघले हरेक वर्ष थुप्रै मान्छेको ज्यान लिएका छन् । अन्य निकुञ्जमा घटिरहेका घटनाबाट शिक्षा लिदैं व्यवस्थापनको कार्य गरिरहेको निकुञ्जले जनाएको छ ।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्ला–लालझाडी–जोगबुढा गरी तीन वटा कम्प्लेक्स विभाजन गरेर बाघ गणना गरिएको थियो । तीन वटै कम्प्लेक्समा गरेर २८ बाघ क्यामेरा ट्रयापमा परेका थिए । क्यामेरामा परेकामाध्ये १६ वटा पोथी र १२ वटा भाले रहेका छन् । आठ वटा बाघ भने अकुपेन्सी सर्भे विधिबाट थप गरिएको थियो । 

क्यामेरा ट्रयाप गर्दा एक वटा भाले बाघ लालझाडी र एक वटा पोथी बाघ जोगबुढा रेञ्जमा परेका थिए । बाँकी २६ वटा बाघ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरामा परेको ऐरले जानकारी दिए ।   सन २०१० मा नेपालले रुसको सेन्ट पिटर्सवर्गमा  २०२२ सम्म यहाँ बाघको सङ्ख्या दोब्बर बनाउने सङ्कल्प गर्दा शुक्लाफाँटामा बाघ सङ्ख्या आठ रहेको थियो । सो सङ्कल्प अनुसार २०२२ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पु¥याउने लक्ष्य थियो । 

यद्यपि, त्यो लक्ष्य शुक्लाफाँटाले २०१३ मै पूरा गरिसकेको छ । सन २०१३ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १७ पुगेको तथ्याङ्क छ । तर, सन २०१८ सम्म पुग्दा भने एक वटा बाघ फेरि घटेर सङ्ख्या १६ मा झरेको थियो ।  हाल यो निकुञ्जमा चित्तल, बँदेल, बाह«ासिङ्गा लगायत गरेर आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा १४६.२ जनावर रहेको निकुञ्जले जनाएको छ । यसैगरी, बाघ भने प्रति वर्गकिलोमिटरमा १.९९ रहेको जनाइएको छ । कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फैलिएको छ । यो निकुञ्जमा बाघको आहारा प्रजाति नेपालमै सबैभन्दा राम्रो रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

यो निकुञ्जमा सन २०१३ देखि २०१८ सम्म बाघ वृद्धिमा खासै उपलब्धी भएको देखिदैन । यो बीचको वर्षहरुमा सङ्ख्या स्थिर रहेको देखिएको थियो ।   निकुञ्ज कार्यालयका अनुसार सन १९९५ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो । त्यसपछि सन २००२ मा २६, सन २००५ मा १८ बाघ गणना गरिएको थियो । यो बेलासम्म बाघको पञ्जा, दिसा लगायतको आधारमा सङ्ख्या निर्धारण गरिएको थियो । 
सन २००९ देखि भने क्यामेरा राखेर बाघ गणनाको कार्य हुँदै आएको छ । जुन सबैभन्दा उत्तम विधि मानिन्छ । २००९ मा आठ वटा बाघ गणना गरिएको थियो । त्यसपछि सन २०१३ मा १७ र २०१८ मा १६ बाघ गणना भएको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो । पछिल्लो समय नेपालमा चार÷चार वर्षको फरकमा राष्ट्रिय बाघ गणना हुने गरेको छ । 

शुक्लाफाँटामा पछिल्लो समय दोब्बरले बाघ वृद्धि हुनुमा पोथीको सङ्ख्या बढी रहेका कारणले हुन सक्ने बताइएको छ । एउटा भाले बाघलाई प्रजननका लागि एक देखि तीन वटासम्म पोथी बाघको आवश्यकता हुने गर्दछ । एक भाले बाघले ४०–५० वर्गकिलोमिटर आफ्नो क्षेत्र निर्धारण गरेर बढीमा तीन वटा पोथीसंग सहवास गर्ने गरेको बताइएको छ । पोथी बाघको सङ्ख्या कम भएमा भाले भालेबीच लडाई हुँदा प्राकृतिक मृत्यु हुने वा भाले बाघले पोथी र त्यसका बच्चा मार्ने सम्भावना बढी रहने गर्दछ । 

यसैबीच, बाघको आहारा प्रजाति बाहसिङ्गाको सङ्ख्या बढेर दुई हजार ३१३ पुगेको छ । सन २०२१ मा गणना गर्दा शुक्लाफाँटामा दुई हजार २४० बाहसिङ्गा रहेका थिए ।