राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून
2022/08/02, 2:49
 
ss

सङ्घीय सरकारमार्फत कैलालीमा निर्माण भइरहेका राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुको प्रगति न्यून रहेको छ । जिल्लाको विकाससंग जोडिएका ती आयोजनाहरुको गत आर्थिक वर्षमा काम सन्तोषजनक नदेखिएको हो ।

अपेक्षानुरुप काम हुन नसके पनि प्रगति न्यून रहेको छ । त्यस्ता आयोजनाहरुको भौतिक र वित्तीय दुवै प्रगति उत्साहजनक छैन ।राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना, धनगढी–अत्तरिया छ लेन सडक, सहजपुर–बोगटान सडकलगायत ठूला आयोजनाको काम यहाँ भइरहेको छ । यी सबै आयोजनाको वित्तीय प्रगति न्यून देखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार रानीजमरा कुलरिया सिँचाइ आयोजनाको पूँजीगततर्फ दुई अर्ब ५८ करोड ४५ लाख बजेटको अख्तियारी आएकोमा एक अर्ब ७८ करोड ३६ लाखमात्र खर्च भएको छ । चिसापानीस्थित कर्णाली नदीमा बाँध रहेको यो आयोजना अन्तर्गत नहर विस्तारसँगै ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण भइरहेको छ । राष्ट्रिय गौरवको यो आयोजनाले कृषितर्फ पनि कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

धनगढी–अत्तरिया छ लेन सडकको पूँजीगततर्फ वित्तीय प्रगति ५७ प्रतिशतमात्र छ । छ लेन सडकको २५ करोड्र पूँजीगत बजेटमध्ये १४ करोड १५ लाखमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल कृष्ण आचार्यले जानकारी दिए । छ लेन सडक कालोपत्रे गर्ने कार्य पूरा भएको छ तर फुटपाथ र सर्भिस लेन निर्माणको काम अलपत्र छ । रेलिङ्ग लगाउने, रंगरोगन गर्ने, ट्राफिक संकेतहरु राख्नेलगायतका कामहरु पुरा भएका छैनन् । दुई वर्षभित्र पूरा गर्ने गरी २०७४ जेठमा निर्माण सम्झौता आयोजनाको पछिल्लो पटक थपिएको अवधि पनि गत जेठमा सकिएको थियो । पौने दुई अर्ब लागत रहेको यो प्रदेशकै ठूलो आयोजनामध्येको हो ।

भारतीय एक्सिस बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरिरहेको कैलाली र डोटी जोड्ने बिपीनगर–बोगटान सडकको प्रगति पनि उत्साहजनक छैन । यो सडकका लागि गत वर्ष अख्तियारी आएको एक अर्ब ६० करोड रुपैयाँमध्ये ६५ करोड ९४ लाखमात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन ४१ प्रतिशतमात्र हो ।

निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर निर्माण कम्पनीले काम सुस्त पारेपछि प्रगति न्यून देखिएको सहजपुर–बोगटान सडक आयोजना प्रमुख उज्जवल श्रेष्ठले बताएका छन् । ५० किलोमिटर सडक दुई वर्षमा कालोपत्रे सक्नुपर्ने आयोजना साढे तीन वर्ष बित्दा पनि भौतिक प्रगति ७० प्रतिशतभन्दा कम छ । यो सडकले कैलाली र डोटीका थुप्रै ग्रामीण बस्तीलाई जोड्छ ।

ठूला योजना रहेको क्षेत्रीय आयोजना कार्यान्वयन इकाइले दुई अर्ब १४ करोड ८४ लाख बजेटमध्ये ९५ करोड ९२ लाख ९४५ प्रतिशत० मात्र खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । स्थानीय पूर्वाधार विकास आयोजनाको प्रगति ५१ प्रतिशत छ । स्थानीय पूर्वाधार आयोजनाको पूँजीगत बजेट १४ करोड साढे ६३ लाख थियो । धनगढी उपमहानगरमा संचालित संघीय सरकारको सघन सहरी विकास कार्यक्रमको चार करोड बजेट फ्रिज भएको छ । निर्माण सामग्रीमा भएको मूल्य वृद्धिको प्रभाव ठूला आयोजनामा देखिएको हो । सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढेको भन्दै ठेकेदारले काम गर्ने सिजनमै काम रोकेका थिए । 

हुलाकी राजमार्गको प्रगति भने ९९ प्रतिशत छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार हुलाकी राजमार्ग आयोजना कार्यालयको ५० करोड ५८ लाख बजेटमध्ये ५० करोड १४ लाख ६९ हजार खर्च भएको छ । कैलालीमा हुलाकी सडकको स्तरोन्नतिको कार्य भइरहेको छ । आगामी मङ्सिरसम्म त्यसको समायवधि रहे पनि कामको प्रगति भने उत्साहजनक छैन । यसैगरी, राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समितिको ३५ करोड २९ लाख ६४ हजार पूँजीगत बजेटमध्ये ३० करोड ३५ लाख ८८ हजार खर्च भएको छ ।