बझाङमा छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द
2022/08/09, 12:54
 
dd

बझाङ जिल्लाको  बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए ।

पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर उपचार गराइएको उनले बताए । बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गर्दछन् ।बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए । 

विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए । चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ। यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ।

विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई सहजीकरण गरेका छन् ।  उक्त समस्या दार्चुला र बैतडीका समेत केही विद्यालयहरूमा देखिँदै आएको छ ।