सुदूरपश्चिमको गौरा महोत्सव अमेरिकाको मेरिल्याण्डमा हुँदै
2022/08/12, 1:07
 
aa

सुदूर पश्चिम नेपालको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ।  सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सांस्कृतिक केन्द्र (हिन्दु बुद्ध मन्दिर)को संयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा प्रदर्शनी हुने भएको हो।

गौरा नेपालको सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरा सुदूरपश्चिममा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरेर मनाइन्छ।

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउँदो सेप्टेम्बर ४ मा हुनलागेको गौरा प्रदर्शनीको तयारी सुरु भएको आयोजकले जनाएको छ। प्रदर्शनीलाई सफल पार्न विभिन्न समितिसमेत गठन गरिएका छन्। प्रदर्शनीमा गौरा पर्वको महत्त्व झल्किने गरी विभिन्न पम्पलेट वितरण गरिनुका साथै झाँकि तथा देउडा नाच प्रदर्शन गरिने छन्।

अमेरिकामा बाक्लिँदै गइरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वको महत्त्व लोप हुन नदिन गौरा प्रदर्शनीको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ।आयोजक कमिटीलाई सम्बोधन गर्दै सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले अमेरिकामा बस्ने नेपालीबीच सांस्कृतिक पर्वका माध्यमबाट भाइचारा बढाउने र सुदूर पश्चिमको संस्कृति र परम्पराबारे जानकारी गराउन गौरा पर्वको आयोजना गर्न लागिएको बताए।