सरोकारवाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक वडापत्र राख्नुपर्ने हुन्छ । अझ सुविधा सम्पन्न निकायमा डिजिटल, दृश्य र श्रव्य नागरिक वडापत्र राखिएको हुन्छ । तर कञ्चनपुर जिल्लामै सुविधा सम्पन्न पुनर्वास नगरपालिकामा नागरिक वडापत्र नै नरहेको पाइएको छ ।
नगरपालिका कार्यालयको नयाँ भवन स्थापना भएको करिब पाँच वर्ष भए पनि अहिलेसम्म नागरिक वडापत्रनै नराखिएको पाइएको हो । नागरिकलाई सेवा लिन आउँदा कुन तला र कुन कोठामा जानुपर्ने, चाहिने आवश्यक कागजात, दस्तुर लगायत सम्पूर्ण सूचना नागरिक वडापत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । जसले गर्दा नागरिकलाई काम गर्न सहज हुन्छ ।
तर नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फ्याक्स बोर्ड राखिएको पाइएको छ ।यता पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने केही दिनमै बनाउने जानकारी दिए ।