नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तालमेल नगर्ने, पहिलो हुने दाबी
स्थानीय तहको गणित : कैलाली-१ मा पहिलो दल
2022/08/20, 2:19
 
नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तालमेल नगर्ने, पहिलो हुने दाबी

धनगढी – स्थानीय तह निर्वाचनमा तिजेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको हो ।
स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि पनि उम्मेदवारी दिने तयारी गरेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग सहकार्य गरेको उन्मुक्ति पार्टीले आमा निर्वाचनमा भने एक्लै निर्वाचन लड्ने तयारी गरेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले कुनै पनि दलसँग गठबन्धन वा चुनावी तालमेल नगरी निर्वाचनमा भाग लिने बताए । ‘कैलालीको हकमा ठोस रुपमा हामी अगामी चुनावमा एक्लै जाने भन्नेमा छौं । बाहिर(बाहिर कसले के भन्छ त्यसको कुनै अर्थ हुँदैन’ पण्डितले भने, ‘कसैसँग सहकार्य नगर्ने भन्ने नै छ । अरु जिल्लामा भने दुवै पक्षलाई लाभ पुग्ने अवस्था भए गठबन्धन वा तालमेल नकार्न सकिंदैन ।’
उनका अनुसार कैलालीमा अहिलेसम्म कुनै पनि दलबाट आधिकारीक रुपमा सहकार्यको प्रस्ताव पनि आएको छैन । प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको प्रवक्ता पण्डितको भनाइ छ ।
कैलालीमा स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभामासमेत नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्ने दाबी उनको छ । प्रतिनिधिसभामा चार सिट ल्याउने उनले जिकिर गरे ।
स्थानीय तहको गणित : कैलाली–१ मा पहिलो दल

नागरिक उन्मुक्ति पार्टीले कैलालीका टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका जितेको छ । यी सबै पालिका पूर्वी क्षेत्रमा पर्छन् ।

यही स्थानीय तहको मतको हिसाब गर्दा क्षेत्रनम्बर १ मा यो दल पहिलो छ । तर सत्ता गठबन्धनको मतलाई जोड्दा भने यो क्षेत्रमा भने नागरिक उन्मुक्ति पछाडि छ । बलियो देखिएको १ नम्बर क्षेत्रबाट पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ । उनी निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरी पत्नी हुन् । क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका ५ वडा, भजनी नगरपालिकाका २ वडा र जोशीपुर गाउँपालिका पर्छन् ।

कुल एक लाख २२३ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्षमा सबैभन्दा बढी १७ हजार १९३ मत पाएको छ । नेपाली कांग्रेसले ११ हजार ११९, एमालेले ९ हजार ९००,माओवादी केन्द्रले ६ हजार ९३०, राप्रपाले २ हजार ७९७, एकीकृत समाजवादीले २ हजार ३४३ र जसपाले एक हजार ८७४ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकाका मेयर र जोशीपुर गाउँपालिकाका अध्यक्षले पाएको मत मात्रै १४ हजार ५४५ हुन्छ । सत्तारुढ गठबन्धनले पाएको मत जोड्दा भने उन्मुक्ति पार्टी दोस्रो स्थानमा देखिन्छ । यहाँ गठबन्धनले १८ हजार १४७ मत प्राप्त गरेको छ ।

२०७४ सालमा निलम्बित सांसद रेशम चौधरीले चुनाव जितेको क्षेत्र, थारु बाहुल्यता, नयाँ मतदाताको प्रभावलगायतका कारण गठबन्धन हुँदासमेत यो क्षेत्र नागरिक उन्मुक्ति पार्टीले जित्ने दाबी गरेको छ ।

४ क्षेत्रमा कमजोर छ नागरिक उन्मुक्ति

स्थानीय तहको नतिजालाई नै आधार मान्दा कैलाली क्षेत्र नम्बर १ बाहेकमा भने नागरिक उन्मुक्ति पार्टी कमजोर देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा वडाध्यक्षको मतका आधारमा एमालेले १७ हजार ८८३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १३ हजार १२१ मत ल्याएको छ । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ती पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।

यो मतका आधारमा क्षेत्र नम्बर २ मा अगामी निर्वाचन सत्तारुढ गठबन्धन ९२३ हजार ६६८० अगाडि छ । यो क्षेत्रमा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वडा पर्छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नतिजा नागरिक उन्मुक्ति पार्टी अनुकुल हुने देखिंदैन् ।

घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाका ७ वडा र कैलारी गाउँपालिकाका ७ वडा पर्ने क्षेत्र नम्बर ३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा सबैभन्दा धेरै नेपाली कांग्रेसले २० हजार ०२४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ११ हजार ५१४, एमालेले ११ हजार १७८, राप्रपाले ६ हजार ६६४, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २५८, एकीकृत समाजवादीले ३ हजार १८ र जसपाले २२३९ मत पाएको छ । यहाँ गठबन्धनको मत जोड्दा ३६ हजार ७९५ हुन्छ ।

क्षेत्र नम्बर ४ मा पनि वडाध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ५०२, एमालेले २० हजार १६०, माओवादी केन्द्रले १० हजार ५८७, समाजवादीले ३ हजार १८० र राप्रपाले ३ हजार ७३४ मत प्राप्त गरेको छ ।

यो क्षेत्र नागरिक उन्मुक्ति पार्टीको प्रभाव क्षेत्रमा पर्दैन् । प्रभाव क्षेत्र नपर्ने भएकै कारण स्थानीय तहको निर्वाचनमा उम्मेदवार नै उठाएन भने केही वडामा उठे पनि न्यून मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ५ मा समेत नागरिक उन्मुक्ति पार्टीको प्रभाव निकै कम छ । उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा जम्मा ६५९ मत मात्र प्राप्त गरेका छन् ।

जबकि यहाँ कांग्रेसले २२ हजार ७७९, एमालेले १७ हजार ४२०, माओवादी केन्द्रले ८ हजार १७६, एकीकृत समाजवादीले २ हजार एक, राप्रपाले एक हजार ७९७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका दुई वडा पर्छन् ।