टीकापुर विद्रोह दिवस मनाउनेबारे थारुबीच लफडा !
नागरिक उन्मुक्तिले एक्लै मनाउने
2022/08/21, 1:07
 
ss

भदौ ७ गते कैलालीको टीकापुरलगायत स्थानमा मनाइने टीकापुर विद्रोह दिवस आयोजनाबारे थारु अधिकारवादी संघ–संस्थाबीच चरम मतभेद देखिएको छ । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ । तर सो दिवस मनाउने विषयमा मतभेद देखिएको हो ।

थारु कल्याणकारिणी सभा ( थाकस), थरुहट÷थारुवान राष्ट्रिय मोर्चा, राजनीतिक दल, टीकापुर राजबन्दी पीडित संघ, थारु विद्यार्थी समाजलगायत संघ संस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाउनेबारे शनिबार टीकापुरमा छलफल राखिएको थियो । तर प्रमुख अतिथिबारे कुरा नमिल्दा मतभेद सिर्जना भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने सबै संघ संस्थाले निर्णय गरेको र सहमति भएको बताए ।

तर टीकापुर बिद्रोहबाटै जन्मिएको तथा जनमतबाट आएको नागरिक उन्मुक्ति पार्टीलाई केही दल र ब्यक्तिले स्वीकार गर्न नसक्दा सहमति हुन नसकेको दाबी गरे । नेपाली कांग्रेसका केही नेताका स्वार्थ र अझै पनि थारु फटाउ रणनीतिका कारण सहमति भाँडिएको मेयर डंगौराको आरोप छ ।

उता बैठकमा सहभागी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामजनम चौधरीले भने, ‘जेलमा रहेका राजबन्दी परिवारका सदस्यलाई प्रमुख अतिथि बनाउनुपर्ने भनाइ राखेका थियौ । तर उहाँहरुले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मात्रै प्रमुख अतिथि बनाउनुपर्ने अडानमा बस्नुभयो । यसैमा कुरा नमिल्दा उहाँहरु छलफलबाटै बाहिर जानुभयो ।’

त्यस्तै, कार्यक्रम मूल आयोजक समिति संयोजक तथा थाकस कैलालीका सभापति माधव थारुले हालसम्म थरुहट आन्दोलनको अगुवाइ थाकस र मोर्चाले नै गरिरहेको बताउँदै छलफलकै क्रममा नागरिक उन्मुक्ति बाहिरिएपछि निष्कर्षमा पुग्न नसकिएको जनाए ।

नागरिक उन्मुक्तिमा अतिवादी चिन्तन हाबी रहेको आरोप लगाउँदै उनले नागरिक उन्मुक्ति बाहेकका संघ संस्थाको संयुक्त आयोजनामा टीकापुरको कान्छी बजारमा कार्यक्रम गरि दिवस मनाइने बताए । यो समाचार रातोपाटीले लेखेको छ ।