कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा विना कि विष्ट ? एसका लामाको पनि छ दाबी !
2022/08/21, 1:58
 
dd

धनगढी- कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई गठबन्धन सहज नहुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा विना निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी पुनः सोही क्षेत्रमा निर्वाचन लड्ने तयारीमा छिन् । प्रतिनिधि सभामा ३ तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसबाट २०७० मा भएको संविधान सभा सदस्यमा निर्वाचित भएका देवानसिंह विष्ट पनि क्षेत्र नम्बर १ मा प्रभावशाली नेता हुन् ।

कांग्रेसका देवान विष्ट २०७४मा नेकपा गठबन्धन भएका बेला विनासँग पराजित भएका थिए । सोही निर्वाचन क्षेत्रका सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री समेत भइसकेका प्रभावशाली नेता तारा लामा पनि एकीकृत समाजबादीबाट निर्वाचन लड्ने बताउँदै आएका छन् । निर्वाचन क्षेत्रमा गठबन्धनबाट उमेदवार टुंगो लगाउन समस्या पर्ने देखिन्छ । २०७९को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा सत्तागठबन्धनबीच गठबन्धन भएको थिएन ।

यसअघि मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी विना मगर, कांग्रेसका नेता देवान सिंह विष्ट र एकीकृत समाजबादीका नेता तारा लामाबीच टिकटका लागि रस्साकस्सी हुने देखिएको छ । प्रचण्ड विनालाई जसरी पनि टिकट दिलाउने पक्षमा छन् भने कांग्रेसका देवानसिंह विष्ट आफू जनताका बिचमा सधैँ रहेकोभन्दै टिकटका लागि काठमाडौं रहेका छन् । एकीकृत समाजबादीका नेता तारा लामा पनि टिकटका लागि दौडधुपमा छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले कञ्चनपुर १ मा आफ्नो दरिलो दाबी राख्दै आएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर १ मा चारमध्ये दुई पालिकामा कांग्रेसले जित हात पारेको छ ।

एमाले र माओवादीले एक÷एक पालिकामा जित हात पारेका छन् । स्थानीय तहको निर्वाचनमा एक नम्बरमा रहेको नेपाली कांग्रेसले संघीय संसदको पद आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ । नेता विष्ट कांग्रेसको संस्थापन इतर समूहमा प्रभाव राख्ने नेता हुन् ।