माओवादीको केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिम ‘शून्य’
2022/08/21, 1:59
 
ss

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिम प्रदेश समेटिएको छैन । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले प्रस्ताव गरेका पदाधिकारीहरुको नाममा सुदूरपश्चिमका कुनै पनि नेता परेका छैनन् ।

माओवादी केन्द्रको २९९ सदस्यीय कमिटिमा सुदूरपश्चिमका २३ जना अटाएका छन् तर पदाधिकारीमा भने कोही नेता नपरेका हुन् । ‘माओवादीमा प्रचण्डले सुदूरपश्चिमका कुनै पनि नेता नसमेटनुको कारण कोही पनि योग्य छैन भन्ने बुझिन्छ । विगतमा लेखराज कमरेड हुनुहुन्थ्यो अहिले उहाँको हैसियतमा कोही नेता देखिएनन्,’ एक नेताले भने ।  प्रचण्डले पार्टी महासचिवमा देवबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरेका छन् ।

यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् भने दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ । कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ ।