स्याउले बजार व्यवस्थापन समितिले मौलिक संस्कृति जोगाउन तीज र गौरा विशेष कार्यक्रम गर्ने
2022/08/23, 5:56
 
स्याउले बजार व्यवस्थापन समितिले मौलिक संस्कृति जोगाउन तीज र गौरा विशेष कार्यक्रम गर्ने

धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउने बजार व्यवस्थापन समितिले नेपालीहरूको महान् चाड हरितालिका तीज तथा सुदूरपश्चिमको मौलिक पर्व गौराको अवसरमा संस्कृति जोगाउन विभिन्न परम्परागत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजक स्याउले बजार व्यवस्थापन समितिले मङ्गलवार त्यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिएको हो । बजार व्यवस्थापन समितिका महासचिव गौतम बिसीका अनुसार भाद्र १३, १४, १६, १७ र १८ गते विविध मौलिक तथा परम्परागत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । भदौ १३ र १४ गते महिलाहरूका लागि तीज विशेष खुला नृत्य प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १०, दोस्रोलाई ५ र तृतीय स्थान हासिल गर्नेलाई ३ हजार पुरस्कार वितरण समेत गरिने उनको भनाई छ । 

यस्तै १६, १७ र १८ गते सुदूरपश्चिमको मौलिक संस्कृतिको जगेर्नाका लागि प्रदेश भरीका कलाकारलाई बोलाएर संस्कृति जोगाउने खालका सांस्कृतिक गतिविधि र देउडा आयोजना गरिने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले जानकारी दिए । ‘पछिल्लो समय सुदूरपश्चिमका मौलिक संस्कृतिका रूपमा रहेका होरी, तीज, फागु, देउडा खेल, ठाडी भाका, गौरा, अनन्ते, चैतली, भुवा नाच, माघी, सखिया नाच, छलिया, हुड्केली, मारुनी नाच, पैसरी, मागल, चाँचरी, विशु आदी लोप हुने खतरामा छन्,’ उनले भने, ‘अबको पुस्ताले यिनको संरक्षणमा लाग्नुपर्दछ भन्ने उद्देश्यका साथ हामीले स्याउलेमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’ 

देउवाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । विश्व महादेव मन्दिरको परिसरमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।