प्रदेशसभामा लड्दै नलड्ने बलायरको अडान, आले भन्छन्– जंगलको बाघ हुँ, मै चुनाव लड्छु
2022/08/25, 1:52
 
ss

काठमाडौं- सरकारले आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने प्रतिपक्षी नेकपा ९एमाले०एक्लै मैदानमा हुने देखिएको छ ।

सत्ता गठबन्धनमा कुन दलले कति संख्यामा सिट पाउने टुंगो लागिसकेको छैन । तर, दलहरूभित्र सिट बाँडफाँटसँगै उमेदवारको छिनोफानो गर्न सकस हुने देखिएको छ ।  गठबन्धनका कारण सिट खोसिने भएपछि दलका सम्भावित उमेदवार रुष्ट बन्दै गएका छन् । उनीहरूले आफूले टिकट नपाए गठबन्धन नै संकटमा पर्ने संकेतसमेत गर्दै आएका छन् ।

सत्तारुढ दलहरूलाई भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा डोटी सबैभन्दा पेचिलो देखिएको छ । एउटा मात्रै प्रतिनिधिसभा सिट भएको डोटीमा गठबन्धनभित्रै दुई बलिया उमेदवार भएपछि सकस हुने देखिएको हो ।

डोटीबाट संघीय संसद् प्रवेशको तयारीमा रहेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मिल्ने ‘मुड’मा देखिँदैनन् । दुवै जना पूर्वमन्त्री हुन् । एमालेका पूर्वनेता आले हाल समाजवादीमा छन् । उनी आफू डोटीबाट चुनाव लड्ने तयारीमा रहेको बताउँछन् ।

“जंगलमा एकमात्रै बाघ हुन्छ । मलाई भोट हाल्न कांग्रेसका कार्यकर्ताहरू आतुर छन् । गठबन्धनबाट भए पनि, नभए पनि म संघमा चुनाव लड्छु,” आले भन्छन्, “यसमा स्पष्ट भए हुन्छ । म कुनै पनि हालतमा पछाडि हट्नेवाला छैन ।”  डोटीमा गठबन्धनमा सहमति नभए देशभर सहमति नहुनेसमेत आलेले दाबी गरे । संसदीय निर्वाचन स्थानीय तहजस्तो नहुने आलेको भनाइ छ ।

०७४ मा भएको निर्वाचनमा डोटीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट लडेका आलेले एक हजार ६३२ मतान्तरले कांग्रेसका उमेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए ।

तर, स्थानीय तहको निर्वाचनमा मतसंख्याका आधारमा डोटीमा समाजवादी चौथो स्थानमा देखिन्छ । कांग्रेस पहिलो स्थानमा छ । स्थानीय तहकै मतले हौसिएको कांग्रेसले डोटीबाट संघमा आफ्नो दाबी रहने बताएको छ ।

डोटीबाट कांग्रेसका संघतर्फका उमेदवार बलायर नै हुन् । सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिसमेत रहेका बलायरले बाह्रखरीसँग भने, “गठबन्धन कुनै व्यक्तिका लागि होइन । एमालेले संविधान र गणतन्त्र मास्न खोजेपछि भएको हो । डोटीमा कांग्रेसको दाबी छ ।”

बलायरले आफू प्रदेशसभामा कुनै पनि हालतमा नलड्ने बताए । आफ्ना बारे सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको उनको भनाइ छ ।  “म राष्ट्रिय राजनीतिमा स्थापित व्यक्ति हुँ । म मुख्यमन्त्री बन्ने होइन, अरुलाई बनाउने मान्छे हो,” बलायरले भने, “संघबाहेक अन्त चुनाव लड्दिनँ, यो स्पष्ट कुरा हो ।”