प्रदेश सभाको अधिवेशन भदौ तेस्रो सातासम्म चल्ने
2022/08/26, 11:11
 
ss

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको १० औं एवम् बर्खे अधिवेशन भदौ तेस्रो सातासम्म चल्ने भएको छ ।वर्तमान प्रदेश सभा सदस्यहरुको कार्यकालको अन्तिम अधिवेशनको रुपमा रहेको बर्खे अधिवेशन सम्भवतः भदौ १६, १७ गतेतिर समापन गर्ने तयारी गर्न थालिएको हो ।

यो मितिमा अधिवेशन समापन गर्दा सबै हिसाबले उपयुक्त हुने प्रदेश सरकार र विषयगत समितिहरुलाई सल्लाह दिएको सभामुख अर्जुनबहादुर थापाले बताए । उनले प्रक्रियामा रहेका तीन वटा विधेयक भदौ १६, १७ गतेसम्म पास हुने उल्लेख गरे ।

‘मेरो मनसाय त भदौ १६, १७ गतेसम्म सबै विधेयक पास गरेर समापन गरौं भन्ने हो’, उनले भने,‘१७ गते समापनको अवसर पाइयो भने म सबै माननीय सदस्य ज्यूहरुलाई मायाको चिनोसहित बिदाई गर्नेछु । र, पुन जितको शुभकामना पनि दिनेछु ।’

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन समापनका लागि प्रदेश सभा सचिवालयलाई पत्र लेखि पठाउने व्यवस्था छ । प्रदेश प्रमुखको सिफारिसमा सभामुखले अधिवेशन समापन गर्नु पर्दछ ।  भदौ तेस्रो सातापछि चाडपर्व सकेर धेरैजसो प्रदेश सभा सदस्यहरु पुनः टिकट प्राप्ती, चुनावका लागि यत्रतत्र लाग्ने भएकाले अधिवेशन समापनको सबैभन्दा उपयुक्त समय गौरा पर्वभन्दा अगाडि नै रहेको सभामुख थापाको बुझाइ छ ।

‘पछि कम माननीय ज्यूहरुको उपस्थितिमा विधेयक पास गर्नु त्यत्ति उपयुक्त हुँदैन’, उनले थपे,‘अहिलेदेखि नै सदस्य ज्यूहरुको उपस्थिति पातलिन थालेकाले भदौ तेस्रो साताभित्रै अधिवेशन समापन गर्दा उपयुक्त हुने सुझाव सरकार र समितिलाई दिएको छु ।’  प्रदेश सभामा हालसम्म प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अल्झिएको छ ।

यसैगरी, प्रदेश सरकारले हालैमात्रै दर्ता गराएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रक्रियामा रहेको छ ।   सभामुख थापाका अनुसार प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको केही कुरामा समिति र सरकारबीच सहमति हुन बाँकी छ । यस्तै, सुदूरपश्चिम प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ प्रतिवेदन तयार पार्ने कार्य भइरहेको छ । यो अधिवेशको अब हुने दोस्रो बैठकमा प्रतिवेदन प्रदेश सभामा पेश हुन सक्ने बताइएको छ । 

सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि भने सोमबार बसेको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल गरिएको छ । प्रक्रियामा रहेका यी तीन वटै विधेयकलाई भदौं तेस्रो साताभित्रै पारित गर्न सकिने सभामुख थापाले बताए । ‘सबै विधेयक पारित भइसकेपछि त्यसपछि विजनेस हुँदैन । अधिवेशन समापन नै गर्नुपर्छ’, उनले भने । 

प्रक्रियामा रहेका तीन वटै विधेयक पास भएमा पाँच वर्षमा प्रदेश सभाबाट पारित हुने विधेयकको सङ्ख्या ६६ पुग्नेछ । हालसम्म ६३ वटा विधेयक पास भइसकेको सभामुख थापाले बताए ।  
 

कार्यकालबाट सन्तुष्ट
यसैबीच, सभामुख अर्जुनबहादुर थापा पाँच वर्षसम्म सभामुखको जिम्मेवारीमा रहेर आफूले गरेका कामबाट सन्तुष्ट भएका छन् । उनले प्रदेश सभा सचिवालयले गरेको कामबाट पनि आफू पूर्ण सन्तुष्ट रहेको बताए ।

‘मेरो कार्यकालमा संसद् कुनै पनि हालतमा भङ्ग नहोस भन्ने मेरो मुख्य ध्यान थियो’, उनले भने,‘त्यो भएन ।’ यसैगरी, सबै बजेट प्रदेश सभाबाटै पारित होस भन्ने आफ्नो चाहना पनि पाँच वर्षे कार्यकालमा पूरा भएको थापाको भनाइ छ । ‘तीन वर्षको बजेटमा सत्ता र प्रतिपक्षबाटै पनि असन्तुष्टि देखिए’, उनले भने,‘तर, कार्य परामर्श व्यवस्था समितिको बैठक बसाएर मैले सबैलाई सहमतिमा ल्याउने भूमिका निर्वाह गरेँ । सबै बजेट सदनबाटै पारित भयो ।’ 

सुदूरपश्चिम प्रदेश सभाबाट समयमै प्रदेशको स्थायी राजधानी तोक्ने र नामाङ्कन गर्ने कार्य भएको सभामुखको भनाइ छ । तर, राजधानी निर्माणको सवालमा भने प्रदेश सरकारले ‘माखो’ पनि मार्न नसकेको उनको भनाइ थियो । सभामुख थापाले प्रदेश लोकसेवा आयोग गठनका लागि पनि भूमिका खेलेकाले आफ्नो कार्यकालबाट पूर्ण सन्तुष्ट रहेको उल्लेख गरे । ‘कुनै प्रदेशमा अनुभव आदानप्रदान गर्दा सुदूरपश्चिमको प्रस्तुति कमजोर हुने काम हामीले गरेका छैनौं’, उनले भने,‘त्यसैले, कार्यकालबाट पूर्ण सन्तुष्ट र खुशी छु ।’