कैलाली - पश्चिम तराईका थारू समुदायले अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् ।
श्रीकृष्ण जन्माअष्टमीपछिको पहिलो आइतवार व्रत बस्ने र सोमवार सकिने गर्छ ।
पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै अटवारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।
परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।
थारू समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, कञ्चनपुरलगायतका जिल्लामा सार्वजनिक बिदा दिएको छ । यसअघि भदौ १९ गते आइतवारका दिनलाई बिदा दिएकोमा संशोधन गरी आज दिने निर्णय भएको हो ।