कञ्चनपुरमा डेंगु र मलेरिया
2022/08/28, 12:32
 
कञ्चनपुरमा डेंगु र मलेरिया

कञ्चनपुर — कञ्चनपुरमा पनि डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । केही दिनयता स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोको प्रकोपसंँगै डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो ।

साउनयता ६ जनामा मलेरिया देखिएको छ । यतिबेला महाकाली प्रादेशिक अस्पतालसंँगै विभिन्न स्वास्थ्य चौकीमा भाइरल र रुघा खोकीका बिरामी बढेका छन् । उनीहरूमध्ये नै डेंगु र मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए । महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. अर्जुन भट्टले बताए । उनकाअनुसार फाटफुट मात्रामा डेंगु र मलेरिया देखिन थालेका हो । गत सातासम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा पनि भाइरल ज्परोका बिरामीको चाप बढेको छ ।

एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्दछ । वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्दछ । त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्छ । यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिनुपर्छ । घरवरपर पानी जम्न दिनु हुँदैन । धेरै मात्रामा लामखुट्टे देखिएमा कुहिरोजस्तो धूवाँयुक्त विषादी छर्किनुपर्ने उनले बताए । ‘यो पनि एक प्रकारको भाइरल हो,’ औलो निरीक्षक भट्टले भने, ‘उच्च ज्वरो, हाड जोर्नी दुख्ने टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन् ।’ उनका अनुसार धेरैमा डेंगु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्ने उनले बताए । कञ्चनपुरमा गतवर्ष १५ जनामा डेंगु देखिएको थियो ।

डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि जिल्लामा परीक्षणका लागि कीटको अभाव रहेको औलो निरिक्षक भट्टले बताए । उनकाअनुसार प्रदेश आपूर्ति केन्द्रले सय कीट पठाएको थियो । उक्त कीटहरू जिल्लाका सबै पालिकामा वितरण गरिएको उनले बताए । ‘पर्याप्त कीटको अभावमा परीक्षण हुन सकेको छैन,’ उनले भने, ‘विभागमा माग गरिएको छ, आपूर्ति भएपछि परीक्षण बढाउन सकिनेछ ।’