डोटीका गठबन्धन गरिए भोट नदिने काँग्रेस नेता तथा कार्यकर्ताको चेतावनी
2022/08/28, 1:00
 
डोटीमा कांग्रेस

डोटी -डोटीमा कांग्रेस नेता तथा कार्यकर्ताले जिल्लामा गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन्। नेपाली कांग्रेस डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गर्दै आवश्यक नरहेको बताएका हुन् । उनीहरु गठबन्धनको बिरुद्धमा उभिएका छन् ।

कांग्रेसका भातृ, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णय नमान्ने पक्षमा उभिएका हुन् । डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गरेका छन्। उनीहरुले जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनी समेत दिएका छन् । जिल्लाको पार्टी नेतृत्व पनि गठबन्धन गरेर अन्य पार्टीलाई टिकेट दिएको स्वीकार गर्ने पक्षमा देखिदैन। स्थानीय नेताकार्यकर्ताहरु पनि कांग्रेसको चुनाव चिन्ह बाहेक अन्त भोट नहाल्ने जनाउदै आएका छन्।

पूर्वीचौकी गाउँपालिकाका सभापति बलबहादुर खड्काले डोटीमा गठबन्धन गरेर चुनाव लडेको अवस्थामा कांग्रेसले ठुलो घाटा बेहोर्नुपर्ने बताए। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बिना कांग्रेसले लोक प्रियमत ल्याएकोले कुनै पार्टीसँग गठबन्धन गर्न आवश्यक नरहेको बताए। जिल्लाका नेताकार्यकर्ताहरुको चाहना बिपरित गठबन्धन गरियो भने कांग्रेसले ठुलो क्षति बेहोर्नुपर्ने बताए । नेवि संघका नेता राजेश ठगुन्नाले जिल्लामा गठबन्धन गरेर अन्य पार्टीको उमेदबारलाई भोट हाल्नुपर्ने अवस्था सृजना भयो भने कांग्रेसका मतदातालाई होल्ड गराउने चेतावनी दिए। डोटीमा गठबन्धन भए पनि नभए पनि तीन वटै सिटमा कांग्रेसले उमेदबार पाउनुपर्ने बताए । सत्ता साझेदार दलसंग झिनो मत छ उनले भने।

उहाँहरुले पनि आफ्नो अवस्था हेरेर सिट माग्नु पर्दछ। गठबन्धन नै गर्ने हो भने पनि डोटीमा कांग्रेसलाई सहयोग गर्नु पर्दछ । हैन भने नेपाली कांग्रसप्रति आस्थावान मतदाताहरुले रुख बाहेक अन्त मतदान गर्न सक्दैनन् । गठबन्धनका नाममा अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरिए मतदातालाई मत हाल्न रोक लगाउनले र मत होल्ड गरिने दाबी गरेका छन् । तरुणदलका अध्यक्ष टेक रावलले कांग्रेसको अस्तित्व मेटिने गरेर गठबन्धन गर्न नहुने सुझाब दिएका छन् । कांग्रेसमा लामो समय राजनीति गरेका थुप्रै नेताकार्यकर्ताहरु रहेकाले पार्टी भित्रै टिकटको व्यवस्थापन गर्न हम्मेहम्मे भएको बताए । गठबन्धन गरेर अन्यपार्टीका नेताहरुलाई टिकट दिइयो भने डोटी कांग्रेसलाई अन्याय उनको भनाई छ । पार्टी सभापति नरेन्द्र बहादुर सिंहले पनी अन्यदलको तिव्र महत्वकांक्षा अनुसारको गठबन्धन स्वीकार्न नसकिने बताए ।
“गठबन्धन आवस्यकता, अस्तित्व, क्षमता र जनमत अनुसार हुने हो,‘उनले भने,‘हामीसँग गठबन्धन गरेर आफु फाइदा लिनखोज्ने तर कांग्रेसको जनमतको कदर नगर्ने अवस्था आयो भने गठबन्धन कदापी स्वीकार्न सकिदैन । गठबन्धन नै कायम गर्नु पर्ने हो भने कांग्रेसका तीन वटै सिटमा सहमति जनाएर अन्य दलले सहयोग गर्नुपर्ने बताए । यस्तै कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले डोटीका जनता, मतदाता र नेताकार्यकर्ताहरुको मनोभावना अनुसार मात्र गठबन्धन हुने बताए । डोटी कांग्रेसका नेता, कार्यकर्ता र मतदाताले चाहेनन् भने जिल्लामा गठबन्धन नहुने बताउँदै उनले अहिले नै गठबन्धन हुन्छ भनेर नआत्तिन अनुरोध गरे । देश व्यापी सञ्चालन भइरहेको नेपाली काँग्रेसको “जनतासँग काँग्रेस“ अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा डोटी पुगेका वडले प्रत्येक पालिकाको वडा हुँदै टोल टोलमा अभियान सञ्चालन गर्ने बताए। अभियान भदौ २४ गतेसम्म सञ्चालन हुनेछ ।यसअघि प्रदेश सभापति वीरबहादुर बलायरले नैतिक रूपमा पनि गठबन्धन गर्न सजिलो नभएको बताएका छन् ।मैले बारम्बार भनेको छु केन्द्रीय सदस्य भएको मानिस प्रदेशको सभापति भएको छु । कांग्रेस सुदूरपश्चिममा जित्नुपर्दछ भनेर आएको हुँ । त्यसका लाग म हुनुपर्दछ भनेर आएको होइन।गठबन्धन गर्दा पनि कांग्रेसको स्वाभिमान जोगिनुपर्छ । कांग्रेसले स्वाभिमान गुमाएर गठबन्धन गर्नुपर्छ भने राजनीति त त्याग्न सकिँदैन तर राजनीतिका यी तिकडम बाजी स्वीकार गर्न सकिँदैन।