कैलाली काँग्रेसले असुल्न थाल्यो उम्मेदवारका आकाङ्क्षीबाट शुल्क, सङ्घमा उम्मेदवारी दिन २५ हजार दिनुपर्ने 
प्रदेशमा १५ हजार
2022/08/30, 2:11
 
कैलाली काँग्रेसले असुल्न थाल्यो उम्मेदवारका आकाङ्क्षीबाट शुल्क, सङ्घमा उम्मेदवारी दिन २५ हजार दिनुपर्ने 

धनगढी - नेपाली काँग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूले केन्द्रको निर्देशन विपरीत धमाधम उम्मेदवारी सिफारिस शुल्क लिन थालेका छन् । केन्द्रले शुल्क नलिन निर्देशन दिए पनि प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरू उम्मेदवारी सिफारिसका लागि रकम उठाइरहेका छन् । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमको कैलालीमा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ आकाङ्क्षा राखेका नेताहरूको निवेदन दर्ता शुल्क नै तोकिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारका लागि निवेदन दर्ता गरेका आकाङ्क्षीबाट शुल्क लिएको नेता प्रकाशबहादुर बमले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ उम्मेदवारका लागि निवेदन दिएकाहरूबाट २५ हजार र समानुपातिकतर्फ निवेदन दिएकाहरूबाट २० हजार रुपैयाँ दर्ता शुल्क लिएको बताए । त्यस्तै प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १५ र समानुपातिकतर्फ निवेदन दिएकाहरूले १० हजार रुपैयाँ दर्ता शुल्क बुझाएका छन् । 

यद्यपि, सोमबार नै काँग्रेसले आसन्न सङ्घीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको थियो । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिहरूलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । 

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न–नउठाउन भनिएको छ।