कञ्चनपुरमा पनि गठबन्धन नगर्ने काँग्रेसको निर्णय
2022/09/05, 1:10
 
aa

कञ्चनपुर-  सुदूरपश्चिमको कञ्चनपुरमा गठबन्धन स्वीकार नगर्ने सत्तारुढ दल नेपाली काँग्रेसले निर्णय गरेको छ । केन्द्रमा सत्तारुढ ५ दलीय गठबन्धन गरी निर्वाचनमा होमिने सहमति गरे पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरिएको हो ।

सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली काँग्रेसले जितेको थियो। काँग्रेसको एक्लै निर्वाचन जित्ने हैसियत रहेकाले गठबन्धन नगर्ने निर्णयमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए ।

कञ्चनपुर १ मा नेपाली काँग्रेसले गठबन्धन अस्वीकार गरे पछि सत्तारुढ दलहरूबिच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति तुहिने निश्चित भएको छ ।यस अघि पनि नेपाली कांग्रेस क्षेत्रीय समितिको दृढ अडानले गठबन्धन भएको थिएन ।

काँग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने  मतदाताहरूको चाहना रहेको क्षेत्रमा पार्टीले गठबन्धन अस्वीकार गर्ने निष्कर्षमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए । यस अघि नेपाली काँग्रेसले डोटी र डडेल्धुरामा पनि  प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा गठबन्धन नगर्ने निर्णय गरिसकेका छन्  ।