कांग्रेसले ८० को वरिपरी सिट पाउने कुरा छ, माओवादीले ६० को : प्रचण्ड
बाँडफाँट भोलि टुंगो लाग्छ
2022/09/06, 11:49
 
बाँडफाँट भोलि टुंगो लाग्छ

धनगढी - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० को वरपर सिट पाउने बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्।

कसले कति सिट पाउने तयारी छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, 'कांग्रेसले शुरुमा १०० सिट भनेको थियो। पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ। हामीले ६० मागेको थियौ। हामी यसको वरपर नै रहन्छौ। एकीकृत समाजवादीले २५ र जसपाले २५ को दाबी गरेको छ। यही वरपर रहेर सिट बाँडफाँट हुन्छ होला।'

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।

अहिलेको मुख्य विषय निर्वाचन नै भएकोले सत्तारुढ दल तालमेल गरेरै चुनावमा जाने उनको भनाई रह्यो। सिट बाँडफाँट शीर्ष नेताको तहबाट भोलिसम्ममा टुंगो लाग्ने अध्यक्ष प्रचण्डले बताए। 'सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने भनेर सबै साथीहरु लागिरहनु भएको छ। कार्यदलले आज साँझसम्म प्रतिवेदन दिने भन्ने छ,' उनले भने, 'भोलि शीर्ष नेताको तहबाट अन्तिम रुप दिइनेछ। दाबी आफ्नोआफ्नो हुन्छ नै। करिबकरिब मिल्ने कुरा नै छ।'