राजावादीसँग मिलेर ओलीले प्रतिगमनको षड्यन्त्र गर्दैछन्: मोहनविक्रम
2022/09/08, 6:03
 
aa

धनगढी- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमाले राजावादीसँग मिलेर प्रतिगमनको षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले र राजावादी मिलेर गणतन्त्र, धर्मनिरपेक्षताजस्ता उपलब्धीहरु सिध्याउने खेल भइरहेको दावी गरे ।

सिंहले २०१७ र २०५९ सालमा प्रजातन्त्रमाथि भएको प्रतिगमनभन्दा ठूलो प्रतिगमनको खतरा अहिले रहेको बताए । ‘प्रतिगमनको मुल धार राजावादी हुन् तर त्यसको नेतृत्व केपी ओलीले गरिरहेका छन् । एमाले राजासँग जोडिएको छ ।’ उनले भने, ‘गणतन्त्र सिध्याउने र हिन्दू राष्ट्र कायम गर्ने प्रयास भइरहेको छ ।’ नेपाललाई हिन्दू राष्ट्र कायम गर्न कट्टर हिन्दूवादी भारतीय सरकारको ओलीलाई सहयोग रहेको उनको भनाइ छ ।

ओलीले दुई/दुई पटक संसद विघठन गरेपछि राजावादीले स्वागत गर्नु, चितवनमा रामको मन्दिर बनाउनु, पशुपतिमा पूजा गर्नु र सुनको गजुर निर्माण गर्नुले ओली र राजावादीबीच हिन्दू राष्ट्र कायम गराउन षड्यन्त्र भइरहेको आधार देखिने सिंहले बताए । 

हिन्दू राष्ट्र कायम भए त्यसको संरक्षणको रुपमा राजा फर्किने उनले दावी गरे । हिन्दू राष्ट्र कायम गर्नु भनेको राजा ल्याउनु भएको उनले बताए । ओलीले आफू प्रधानमन्त्री भएका बेला सामन्त गोयलसँग गोप्य भेटघाट गरेर हिन्दू राष्ट्रको मुद्दामा सहमति जनाएका उल्लेख गर्दै सिंहले पशुपतिमा जलहरी दिनु, चितवनमा राममन्दिर बनाउनु त्यसको पुष्टि गर्ने बताए । 

‘ओली पहिलेनै गणतन्त्रको पक्षमा थिएनन् । पहिले पनि आन्दोलनबाट गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेका थिए ।’ सिंहले भने, ‘अहिले भइरहेको प्रतिगमनको षड्यन्त्रविरुद्ध गठबन्धन एक ठाउँमा छ ।’ आगामी चुनावले गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा हुने वा मुलुक अधिनायकवादतिर जाने भन्ने फैसला गर्ने पनि उनले बताए । गठबन्धनले जिते मुलुकमा प्राप्त उपलब्धीको रक्षा हुने उनको दावी छ ।

‘अहिलेको चुनाव गम्भीर र ऐतिहासिक महत्वको छ । देश प्रतिगमनमा जान्छ वा उपलब्धीको रक्षा हुन्छ भन्ने कुरा चुनावले थाहा हुन्छ ।’ सिंहले भने, ‘यो चुनावमा जित–हारको मात्र प्रश्न छैन, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको रक्षाको प्रश्न छ ।’ यसका विरुद्ध आगामी निर्वाचनमा सत्तारुढ दलहरु गठबन्धन गरेर जान लागेको उनले बताए । संघीयता, राष्ट्रियताजस्ता महत्वपूर्ण मुद्दामा सत्तारुढ दलहरुसँग आफ्नो विमती रहे पनि प्रतिगमन हुन नदिन तालमेल गर्नु परेको उनले बताए ।