विरुद्धमा होइन विकल्पमा मेरो उम्मेदवारी हो : युवा नेता कृष्ण पाण्डे
2022/09/08, 9:31
 
PP

आगामी मंसिर ४ मा हुने संघीय तथा प्रदेश निर्वाचन–२०७९ का लागि कैलाली जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभाका सदस्यका लागि नेपाली कांग्रेसका युवा नेता कृष्ण पाण्डेको नाम सिफारिस भएको छ । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेर काम गरेका पाण्डेको नाम संघीय सांसदका लागि  सिफारिस भएको हो । 
विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका पाण्डे सरस्वती मावि प्रतापपुरबाट नेपाल विद्यार्थी संघमा आबद्ध भई उच्च मावि , काठमाडौंको शंकरदेव क्याम्पस र त्रिचन्द्र क्याम्पसमा समेत विद्यार्थी राजनीति गर्नु भएको हो । पाण्डेले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्य समेत भइ सकेका युवा नेता पाण्डेले ट्रेड युनियन कांग्रेसको राजनीति गर्दैगर्दा श्रमजीवीको अधिकारको लागि निरन्तर आवाज समेत उठाउनु भएको हो । 
११ /१२ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १३ औं महाधिवेशनमा जिल्ला कार्य समिति सदस्य, १४ महाधिवेशनमा कैलाली जिल्ला कार्य समितिको सहसचिवमा उप विजेता, जिल्ला प्रशिक्षक भइसक्नु भएका पाण्डे वडा तहदेखि लिएर मोहन्याल गाउँ पालिकामा समेत संगठन निर्माण गरेका थिए । युवा नेता पाण्डेले आफ्नो उम्मेदवारी परिवर्तनको पक्षमा रहेको र युवादेखि हरेक मतदाताले परिवर्तन चाहेकाले जित्ने आधार समेत भएको बताए । पुराना अनुहारहरूलाई जनताले अथवा मतदाताहरूले नचाहेका कारण पनि आफ्नो उम्मेदवारी रहेको उहाँले बताएका छन् । विगतमा चुनावको समयमा अन्तर्घात गरेर पत्र घर घरमा थम्याउने प्रवृत्तिका विरुद्ध समेत आफ्नो उम्मेदवार रहेको पाण्डेको दाबी छ । युवा नेता पाण्डे कैलाली क्षेत्र नं २ मा संघीय सांसदमा निर्वाचित भएमा विकास निर्माणको खाका समेत आफुसँग भएको र विकास निर्माण कार्यले गति लिने बताए । आफ्नो उम्मेदवारी कसैको विरुद्वमा नभई विकल्पमा भएको र जनताले परिवर्तन चाहेकाले आफ्नो उम्मेदवारी भएको बताएका छन ।