जिसस प्रमुखको चर्तिकलाः लुगा धुन सरकारी कर्मचारी प्रयोग, नमाने जागिरै चट् !
2020/06/26, 5:47
 
bhrasachar

लखन चौधरी- जिल्ला समन्वय समिति (जिसस) कैलालीका प्रमुख सूर्यबहादुर थापाले सरकारी गाडी, ईन्धन र जनशक्तीलाई निजी प्रयोजनमा लगाउने गरेको पाईएको छ । प्रमुख थापाले कार्यरत कर्मचारीलाई व्यक्तीगत काममा लगाउँदा नमान्नेलाई जगिरबाटै निकाल्ने, स्पष्टीकरण सोध्ने, विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गर्ने लगायत कार्य गर्दै आएको रहस्य खुलेको हो । व्यक्तिगत काममा लगाउँदा पछिल्लो समय जिसस प्रमुख थापा र कर्मचारीबीच मनमुटाव निकै चुलिएको छ । आफूले चाहे अनुसारको काम नगरेको भन्दै जिसस प्रमुख थापाले करार सेवामा कार्यरत हलुका सवारी चालक प्रेम नाथलाई सेवाबाट हटाइ दिएका छन् भने लकडाउनको अवधिमा काम नगरेको भन्दै निमित्त समन्वय अधिकारी तथा शाखा अधिकृत सुनिल सागर जोशी र नायव सुब्बा वीरराम ताम्राकारलाई स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नआएको भन्दै विभागीय कारवाहीको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेका छन् ।

‘प्रमुख थापाले कर्मचारीलाई लुगा धुन लगाउँछन’
समन्वय समिति प्रमुखले कर्मचारीलाई व्यक्तीगत काममा लगाउने र नमान्नेलाई कारवाही गर्ने भएपछि केही कर्मचारी त्रसित भएका छन् । प्रमुख थापाको व्यवहारबाट त्रसित भएका एक कार्यालय सहयोगीले रोजगारी गुम्ने डरले पनि प्रमुखको व्यक्तिगत काम गर्न बाध्य भएको दुःखेसो पोखेका छन् । नाम उल्लेख नगरिदिने सर्तमा उनले भने, ‘कार्यालयको काम त छँदैछ, कार्यालयको जिम्मेवारी त जो कोही राष्ट्रसेवकले निर्वाह गर्नैपर्छ तर मैले त उहाँको (प्रमुख) को लागि खाना पकाउनेदेखि लुगा धुने लगायतको काम गर्दै आएको छु । ठूला कर्मचारी र प्रमुखबीच लफडा छ । उनीहरूको कारण आफू पनि निकालिने डर छ । परिवार पाल्नलाई भएपनि सहेर बसेका छु ।’ 
जिसस प्रमुख थापाले सरकारी पोशाक लगाउँदा होच्याउने गरेको समेत पाइएको छ । कार्यालय सहयोगी चेतराज भट्टले आफूले पोशाक लगाउँदा प्रमुख थापाले ‘ठाट्टिएर आउने’ भन्दै समितिको बैठकमा होच्याएको बताए । ‘राज्यले दिएको पोशाक नलगाउँदा किन नलगाएको भन्छन्, लगाउँदा मैले तिमीलाई चिनिन, ठट्टिएर बस्ने भन्दै सबैको सामु होच्याउँछन्, मानसिक तनाव सिर्जना गर्छन् ?’ उनले भने ।

जिसस प्रमुखको हेपाहा शैली !
जिसस प्रमुखको कार्यबाट असन्तुष्ट भएका नासु एवं कार्यालयका सूचना अधिकारी वीरराम ताम्राकारले कार्यालयको नियमित काम गर्दागर्दै पनि स्पष्टीकरण सोध्ने र पहुँचकै भरमा विभागीय कारवाहीको लागि मन्त्रालयलाई सिफारिस गरेको आरोप लगाए । पहुँच नभएका कर्मचारीको श्रम शोषण र पेटमा लात हान्ने काम हुँदै आएको उनले गुनासो गरे । ‘लकडाउनको बेलामा मैले सबै स्थानीय तहसँग समन्वय गरेर सूचना संकलन लगायत कार्य गरेको छु । अहिले नै उपलब्ध गराउन सक्छु । स्थानीय तहसँग बुझ्दा पनि हुन्छ तर काम नगरेको भन्दै मलाई स्पष्टीकरण सोधियो । कारवाहीको लागि सिफारिस गरिएको छ,’ सूचना अधिकारी ताम्राकारले भने, ‘मेरो उहाँलाई ३ वटा सवाल छन् –आदेशको एकात्मकता भनेको के हो ? पद सोपान भनेको के हो ? कर्मचारी संयन्त्रभित्र पद सोपान नै चेन अफ कमाण्ड हो । समन्वय समितिको काम नीति निर्माण गर्ने हो कि कार्यालय सञ्चालन गर्ने हो ? नीति निर्माण गर्न छोडेर निहीत स्वार्थ पूरा गर्नलाई कर्मचारीको पछि लाग्ने ? मभन्दा सिनियर हाकिम छन्, हाकिम बिरामी भएपछि अर्का निमित्त प्रमुख तोकिएका छन्, कस–कसको चेन अफ कमाण्डमा बसूँ ?’ काम गर्दा गर्दै पनि कारवाही भोग्नुपर्ने अवस्था आएको सूचना अधिकारी ताम्राकारको गुनासो छ । जिससका समन्वय अधिकारी वीरबहादुर शाही बिरामी परेपछि निमित्त प्रमुखको जिम्मेवारी शाखा अधिकृत जोशीलाई तोकिएको छ ।

गाडी नचलाउनेलाई चालकको जागिर
जिससभित्र केही कर्मचारीलाई काँखी च्याप्ने काम समेत भएको जनाइएको छ । जिसस प्रमुख थापाले सवारी चलाउन नजान्ने आफू निकटका एक जनालाई चालकको नियुक्ति दिएर तलब खुवाउँदै आएको आरोप लागेको छ । सूचना अधिकारी ताम्राकारका अनुसार जिससले प्रकाश खनाल, ताराकुमारी बम र प्रेम नाथलाई हलुका सवारी चालकमा करारमा नियुक्त गरेको छ । बम र नाथलाई २०७६ कात्तिक १ गते नियुक्त गरिएको हो ।  सवारी चालक अनुमतिपत्र भए पनि सवारी चलाउन नसक्ने बमलाई चालकको तलब खुवाउँदै आएको जिससकै कर्मचारीले आरोप लगाउँदै आएका छन् । सूचना अधिकारी ताम्राकारले ठोकुवा गर्दै भने, ‘म यहाँको सूचना अधिकारी हो तर मैलै ताराकुमारी बमलाई हालसम्म गाडी चलाएको देखेको छैन । नियुक्ति गाडी चालकको छ । काम कार्यालय सहयोगीको गर्दै आउनुभएको छ । उहाँलाई आवास सुुविधा पनि दिइएको छ ।’

नियुक्ति कात्तिकमै पाएकी बमलाई कार्यालयका अर्का चालक प्रकाश खनालले केही दिन सिकाए तर सरकारी गाडी ठोकिदिने हुन् कि भन्ने डरले खनालले गाडी सिकाउन छाडेको कार्यालयका कर्मचारी बताउँछन् । बमसँगै नियुक्ति पाएका अर्का चालक प्रेम नाथलाई हाल जिम्मेवारीबाट हटाइएको छ । जिम्मेवारीबाट हटाइएका नाथले तोकिएको सबै काम गर्दा पनि आफूलाई जिम्मेवारीबाट हटाइएको तर जिम्मेवारी अनुसार कामै नगर्नेलाई काँखी च्याप्ने काम भएको दुःखेसो सुनाए । लम्की घर भएका प्रमुख थापाले सरकारी गाडी, इन्धन र जनशक्तिलाई आफ्नो निजी जस्तै प्रयोग गरेको कर्मचारीले आरोप लगाएका छन् । सरकारी गाडी प्रायः लम्की र नेपालगञ्ज लैजानमै प्रयोग भएको जनाइएको छ । नेपालगञ्जमा प्रमुख थापाको दाना उद्योग रहेको जनाइएको छ । जिसस प्रमुख थापाले उद्योग स्थापनाको क्रममा १५ दिनसम्म आफूलाई नेपालगञ्जमा राखेको सवारी चालक नाथले बताए । ‘म एकसरो कपडामा गाडी हाँकेर नेपालजञ्ज गएको थिए । मैले कपडा चेन्ज गर्नु छ भन्दाखेरी काम गर्ने भए गर, नत्र घर जा, अर्को डाइभर आउँछ भनेर जवाफ पाएँ, बाध्यतावश परिवार पाल्न काम गरियो,’ उनले भने ।

चालकलाई दुःखै–दुःख
सवारी चालक नाथले जिसस प्रमुख थापाकै लागि गाडी हाँकेर काठमाडौं गएको तर मानसिक यातनै यातनापछि फर्किने बेला बसमा फर्केको बताए । उनले घटनाबारे सुनाउँदै लोकान्तरलाई भने, ‘गाडीको इन्जिनमा केही खराबी थियो । गाडी चेन्ज गर्छु भन्नुभएको थियो प्रमुख (थापा) ले । त्यही गाडी हाँकेर पुस अन्तिम हप्ता धनगढीबाट उहाँको घर लम्की, लम्कीबाट उहाँको फ्याक्ट्री नेपालगञ्ज गएँ । उहाँ नेपालगञ्जबाट प्लेनमा काठमाडौं जानुभयो । म चाहिँ उहाँको रासन, लत्ताकपडा लगायत टन्नै सामान लोड गएर काठमाडौंतिर गए । उहाँले आफ्नो रुमाल पनि आफूसँग लग्नुभएन । उहाँले मलाई बिहान ८ बजे कपडा चाहिन्छ भनेर भन्नुभएको थियो । त्यसै अनुसार म नेपालगञ्जबाट हिँडें । चनौटामा एउटा जीपले मान्छे बचाउने क्रममा मैले चलाएको गाडीमा ठोकिदियो । गाडीको च्यादर काटियो । प्रहरीलाई खबर गरे । पछि सामान्य मर्मत गरेर काठमाडौ गएँ ।’
काठमाडौं पुगेपछि आफूमाथि अमानवीय व्यवहार भएको उनले बताए । उनी भन्छन्, ‘खाना र बस्नको व्यवस्था गरिदिनुहुन्छ भनेर ढुक्क थिएँ । काठमाडौं पुग्दा खाना समेत सोधिएन । मसँग पैसा पनि थिएन । खर्च माग्दा उहाँले झपार्नुभयो । जसले गाडी ठोक्यो उसैसँग माग्नु, उतै खानु, उतै बस्नु भन्नुभयो । हप्तादिनसम्म साथीहरूको डेरामा बसे । एटीएमबाट ९ हजार रुपैयाँ झिकेर खर्च गरे । बस चढेर धनगढी फर्के ।’ गाडी बिग्रेकै निहुँमा आफूलाई जिम्मेवारीबाट हटाइएपछि मानसिक तनावमा रहेको दुःखेसो पोख्दै उनले भने, ‘वैशाख र जेठसम्म काम गरेको २ महिनाको तलव अझैसम्म नदिँदा निकै अप्ठ्यारोमा परेको छु ।’ ‘गाडी बिग्रेपछि सरसफाइको काम गरे । कोठाको पोछादेखि शौचालयको सफाइसम्म गरे । म त गरीब, पहुँच नभएको ज्याला मजदुरी गरी खाने मान्छे हजुर, मेरो बालबच्चा छन् । २ महिनाको तबल अझै रोकिएको छ । केही भयो भने त्यो पनि जान्छ कि भन्ने पीडामा छु,’ उनले भने ।

कसैलाई व्यक्तीगत काम गराएको छैनः थापा
जिसस प्रमुख थापाले भने कर्मचारीले आफूमाथि लगाएका आरोपहरू निराधार रहेको दाबी गरेका छन् । आफ्नो निजी कार्यमा कसैलाई प्रयोग नगरेको जिकिर गर्दै उनले आफ्नै निजी गाडी र इन्धन प्रयोग गरेर कार्यालयको काम गर्दै आएको दाबी गरे । करार अवधि सकिएपछि पनि पुनः थप गरेर जेठसम्म बढाएको उनले बताए तर भएको गाडी बिग्रेपछि सवारी चालक नाथलाई पदमुक्त गरेको प्रमुख थापाले बताए । निमित्त प्रमुख जोशी र सूचना अधिकारी ताम्राकारले लकडाउनको अवधि तथा ३ महिनासम्म सम्पर्कमा नआएकाले स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएपछि कारवाहीको लागि सिफारिस गरिएको उनले दाबी गरे । जिसस प्रमुख थापाले भने, ‘राष्ट्रसेवक कर्मचारीले जनता र राष्ट्रको सेवामा लापरवाही गरेपछि कारवाही गरिएको हो । तलब सरकारको खाने, काम नगर्ने हुन्छ ? काम गर्न लगाउँदा म यता छु, उता छु भनेर बहानाबाजी गर्न मिल्छ ?’

ईन्धनमा तोकिएकोभन्दा बढी खर्च
जिल्ला समन्वय समितिले जेठसम्ममा इन्धनमा मात्रै ३ लाख ८७ हजार १३४ रुपैयाँ खर्च गरेको छ । जिल्ला समन्वय समितिले १ वर्षमा ३ लाख ६८ हजार रुपैयाँ इन्धन लागि छुट्याएको थियो । ११ महिनाको अवधिमा तोकिएकोभन्दा बढी खर्च गरेको पाइएको छ । (यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)