महिला उत्थानको कुरा कागजमा सीमित
2022/10/06, 11:15
 
ss

बाजुरा-  बाजुराका अधिकांश महिलाहरू गिट्टी कुटेर नै जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा महिलाहरूका लागि सहज हुने कुनै कामहरू नमिलेपछि उनीहरू खोलाको किनारमा बसेर गिट्टी कुट्न बाध्य छन् । बूढीगङ्गा नगरपालिका– १० की एकल महिला रामकली विकले, गाउँमा एकल महिलाका लागि कुनै रोजगारका कामहरू सञ्चालन नहुँदा अहिले गिट्टी कुटेर नै पेट पाल्ने गरेको बताइन् । उनी भन्छिन्,‘स्थानीय तहले बर्सेनि गाउँमा महिला उत्थानका कार्यक्रमका सञ्चालन गर्दै आए पनि म जस्ता दर्जनौँ एकल महिलाहरू अहिले पनि गिट्टी कुट्नु परेको छ ।’

विकका अनुसार गाउँका अधिकांश महिला दिदीबहिनीहरूको जीवन पहिले भन्दा अहिले झन् निकै कष्ठकर बन्दै गएको छ । जिल्लाका अधिकांश महिलाको क्षमता अभिवृद्धि विकास तथा हातमा गरी खाने केही सीप नभएपछि उनीहरूको जीवन पहिलेको भन्दा अहिले दयनीय बन्दै गएको विकले बताइन् । 

जिल्लामा महिला उत्थानका कुरा भए पनि गाउँका महिलाहरूलाई भने गिट्टी कुटेर जीविकोपार्जन गर्नु परेको विकले बताइन् । जिल्लामा महिलाहरूको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्था र स्थानीय तहले गाउँमा एकल महिलाका लागि केही कार्यक्रम सञ्चालन गरेको भए पनि एकल महिलाको जीवन परिवर्तन हुने खासै कार्यक्रम ल्याउन नसकेको विकले बताइन् । स्थानीय सरकारले प्रत्येक वर्षको गाउँ तथा नगर सभामा एकल तथा पीडित महिलाहरूलाई अनुकूल हुने कार्यक्रम ल्याउने प्रस्तावना राख्दै आएको भए पनि ती कुरा कागजमा मात्र सीमित हुने गरेका छन् ।

बाजुराका अधिकांश महिला अहिले भोको पेट पाल्नकै लागि खोलाको किनारमा दिनानुदिन गिट्टी कुट्दै आइरहेका छन् । स्थानीय सरकारले गाउँमा गौरवका योजनाहरू ल्याउने गरेको भए पनि ती महिलाहरूका लागि भने ती योजना हात्तीको देखाउने दाँत जस्तै हुने गरेका छन् । 

स्थानीय सरकारले गाउँमा सुरु गरेका भौतिक पूर्वाधार निमार्णका कामले अधिकांश महिलालाई गिट्टी कुट्ने काम त पाइन्छ, तर महिलाका लागि सहज हुने गाउँमा कुनै सीपमूलक कार्यक्रम भने ल्याउन सकेका छैनन् । स्थानीय महिलाहरूका लागि गाउँमा अहिलेसम्म कुनै रोजगारीका काम नमिलेपछि उनीहरू गिट्टी कुटेर घर खर्च चलाउँछन् ।

छेडे दह गाउँपालिका –५ का शान्ति विकले, गाउँमा पुरुषका लागि धेरै कार्यक्रम आउँछन् तर महिलाहरूका लागि भने कुनै पनि कार्यक्रम नआएको बताइन् । उनले भनिन्, स्थानीय सरकारले गाउँमा पूर्वाधार विकास ठुलो रकम लगानी गर्दै आएको भए पनि गाउँका महिलाले भने गिट्टी कुट्ने भन्दा अन्य कुनै काम नपाएको बताइन् । 

गाउँमा सञ्चालन भएका पूर्वाधार निमार्णका कामले महिलाहरूलाई गिट्टी कुट्ने कामले घर खर्च चलाउन त सहज बनाए पनि उनीहरूको आर्थिकरुपमा परिवर्तन गर्न स्थानीय तहले कार्यक्रम ल्याउन सकेको छैन ।  हिउँद लाग्ने बित्तिकै बाजुराका अधिकांश महिला रोजगारीका लागि भारत जाने गर्दछन् । स्थानीय सरकारले ती महिलालाई सहज हुने गरी गाउँमै काम मिलाउनुको  साटो उल्टै गरी खाने जमिन मास्ने गरी डोजर चलाउँछ । यसरी भएकै जमिनमा डोजर चलाएपछि नत गाउँमा विकास भएको देखिन्छ नत जमिन नै रहेको छ । 

गाउँमै काम गर्ने कुनै वातावरण नमिलेपछि ती महिलाहरूलाई छोराछोरीको पढाइ र घर खर्च चलाउन घर छोडेर विदेश जानुको अर्को केही विकल्प नभएको विकले भनिन् । गाउँमा भौतिक पूर्वाधारका काम सञ्चालनले गिट्टी कुट्ने काम पाउँदा महिलालाई पेट पाल्न केही सहज बनाए पनि ठुलो परिमाणको रोजगार भने कतै नमिलेको विकले बताइन् । यता स्थानीय तहले भने एकल अपाङ्ग असहायको जीविकोपार्जनका सिलाई कटाइ ,बाख्रापालन तरकारी खेती लगायतका कृषि कार्यक्रम सुचारु गर्दै आएको बताउँछन् ।