३ दिनदेखी लगातार परेको बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका करिब आढाई सय घर डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार जिल्लाको भजनी नगरपालिका वडा नम्बर २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा १२० देखी १ सय २५ घरधुरी डुवानमा परेका छन् ।
यस्तै काँडा नदीको बाढी पसेपछि पल्टापुरका ४० घरधुरी डुवान परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ४० घरधुरीका ९० देखी ९५ जना बिस्थापित भएका छन् । उनिहरु राष्टिय माध्यमिक बिद्यालय पल्टापुरमा बसेको प्रहरीले बताएको छ ।
यस्तै भजनी नगरपालिकाकै वडा नम्बर ७ शिविर टोलका ३० देखी ४० घरधुरीमा कान्द्रा नदी पसेपछि नागरिकहरु बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले बताए ।
यस्तै भजनीकै वडा नम्बर ८ खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेपछि उक्त स्थानमा इलाका प्रहरी कार्यालय भजनी, पृथ्वीपुर र प्रहरी चौकी जनकपुरबाट प्रहरी टोली खटिएर उद्धार गरेर सुरक्षित स्थानमा सारिरहेको जोशीले जानकारी दिए ।