धनगढी- आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थापिदैछ। नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।
पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रोदेखि भने आकाश खुलेको थियो। तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो। विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले गर्दा वर्षा भएको जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताए।