माओवादी सुदूरपश्चिमका सम्भावित उमेदवार (सूचीसहित)
2022/10/08, 12:00
 
ss

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका सम्भावित र निश्चित भएका उमेद्वारको सूची प्राप्त भएको छ । अधिकांश क्षेत्रमा कसले टिकट पाउने भन्नेबारे मोटामोटी सहमति भइसकेको छ भने केही स्थानमा दुई जनासम्मको दाबी छ ।

माओवादीले सत्ता गठबन्धनबाट सुदूरपश्चिमा प्रतिनिधिसभामा ४ सिट पाएको छ । जसमध्ये कञ्चनपुर–१ मा विना मगर, वैतडीमा नरेन्द्र कुवँरको टिकट सुनिश्चित भइसकेको एक नेताले बताए ।यसबाहेक कैलाली–२ मा पनि भगत वडुवाल निश्चित भइसकेका छन् भने कैलाली–३ मा वीरमान चौधरी र कृष्ण चौधरीको दाबी छ । सो क्षेत्रमा वीरमानले टिकट पाउने पक्कापक्की जस्तै छ ।

प्रदेशसभामा को–को ? 

कञ्चनपुर–१ को (क) मा लोकेन्द्र लम्साल, दीपक तिमिल्सीना र दीपक विसीको दाबी छ । टिकट भने लम्सालले पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । उनी राष्ट्रिय जनमोर्चाबाट माओवादीमा प्रवेश गरेका हुन् । सो क्षेत्रमा उनी पुराना नेता पनि हुन् ।

कञ्चनपुर–२ मा देविलाल चौधरी र ओमविक्रम भाटमध्ये एकको सम्भावना छ । देविलाल पूर्व संविधानसभा सदस्य हुन भने भाट युवा नेता हुन् ।

कञ्चनपुर– ३ (क) मा गठबन्धनबीच सहमति भएको छ । तर, सो क्षेत्र माओवादीले पाउने सम्भावना बढी छ । यस्तोमा पूर्व संविधानसभा सदस्य टेकेन्द्र भट्टले टिकट पाउनेछन् ।

डडेल्धुरा (क) मा माओवादी सुदूरपश्चिम इञ्जार्च खगराज भट्टको उमेदवारी निश्चित भइसकेको छ । उनी ०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए ।

दार्चुला (ख) मा प्रदेश सरकारका मन्त्रीसमेत रहेका मानबहादुर धामीले टिकट पाउने छन् ।बझाङ (ख)मा भीम बहादुर भण्डारीको नाममा सहमती भइसकेको छ ।

अछाम (क) मा अक्कल रावल, शरतसिंह भण्डारी, रामप्रसाद तिमिल्सीना र पुष्प न्यौपानेको दाबी छ । तर, भण्डारीले टिकट पाउने सम्भावना बढी छ ।

अछाम (ख) मा झपट साउँद र दीपक साउँदको दाबी छ । टिकट दीपकले पाउने सम्भावना बढी छ ।बाजुरा (क) मा केशव विक र रमेशराज विकको दाबी छ । सहमति भइसकेको छैन ।

डोटी (ख) मा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र शिवसिंह ओलीको दाबी छ । डोटी जिल्ला पार्टी र प्रदेश पदाधिकारी मुख्यमन्त्रीको विरुद्धमा छन् । ५ वर्षसम्म लगातार सरकार चलाएर लोकप्रियता कायम गर्न नसकेको आरोप उनीमाथि छ । प्रचण्डले हस्तक्षेप नगरे शिवसिंह ओलीले टिकट पाउनेछन् ।

कैलाली –२ (ख) मा नरेन्द्रबहादुर साउँदले टिकट पाउने निश्चित छ ।

कैलाली–४ (ख) मा मेघराज भट्ट र तिलक चौधरीको दाबी छ । को हुने भन्ने टुङ्गीएको छैन् ।

कैलाली–५ (क)मा रमेश धामी, भीमलाल भण्डारी र रमेश बस्नेतको दाबी छ । सहमति हुन बाँकी छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयन भोलि (आइतबार) हुँदै छ । त्यसैले आज अबेर रातिसम्म सबै नामको टुङ्गो लगाउनै पर्ने बाध्यतामा दलहरुलाई छ ।